२५ भदौ, सिरहा । कोरोनाको ईपीसेन्टर बनेको सिरहामा एकैदिन ठुलो संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ । कैदिबन्दी, सैनिक र स्थानीय सहित सिरहामा एकैदिन ६७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । एकैदिन यतिधेरै संख्याका कैदिबन्दीमा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमणको स्थिती झनै भयावह हुने देखीएको छ ।
बुधबार बेलुका आएको रिपोर्ट अनुसार ५९ कैदिबन्दी, ७ सैनिक र अन्य स्थानीयको रिपोर्ट पोजेटिभ आएको हो । कोरोना संक्रमण पुष्टि हुनेमा सिरहा कारागारका ५९ कैदीबन्दी रहेका छन् । र संक्रमित हुने एक जना मिर्चैया नगरपालिकाका स्थानीय रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिएका छन् ।
पछिल्लो ३ दिनमा सिरहामा १ सय ४२ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै सिरहामा सक्रिय संक्रमितको संख्या २ सय ६५ पुगेको छ । हालसम्म ३ सय ५५ जना निको भएर घर फर्किसकेका छन् । १० जनाको कोरोनाले मृत्यु भइसकेको छ ।
पछिल्लो समय वीरगञ्ज, पर्सामा कोरोना संक्रमण अत्यधिक बढ्दै गएपछि आईसोलेशन, क्वोरन्टाई, भेन्टिलेटरको अभाव हुन थालेको छ । जसका कारण संक्रमितले उपचार नपाएरै मृत्यु वरण गरिरहेका छन् ।





