२७ भदौ, काठमाडौं । आज (शनिबार) काठमाडौं र ललितपुरका धेरैजसो ठाउँमा दिनभरी बिजुली जाने भएको छ । विद्युत क्षमता विस्तार र संरचना सार्नका लागि काठमाडौं र ललितपुरका केही ठाउँमा शनिबार बिजुली काट्न लागिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
ती ठाउँमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म बिजुली काटिने छ । कुलेश्वर वितरण केन्द्रको बालाजु स्वयम्भू फिडरबाट वितरित स्वयम्भू, अजिमा हल, भगवान पाउँ, सानो भर्याङ्ग, ठूलो भर्याङ्ग, इचंङ्गु, हलचोकलगायतका ठाउँहरुमा आज दिनभर विद्युत अवरुद्ध हुनेछ ।
चक्रपथ विस्तार कार्यक्रम अन्तर्गत विद्युतीय संरचना सार्नुपर्ने भएकाले बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म ती ठाउँमा बिजुली काटिने प्राधिकरणले जनाएको छ ।
त्यस्तै ललितपुरको पुल्चोक वितरण केन्द्रको टेकु पुल्चोक फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर विस्तार गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म बिजुली काटिने छ। यसबाट धोविघाट नयाँ बाटो, मेघा हस्पिटल, पट्टीपा चोक, सिद्धार्थ कटेज, ढुङ्गेधारालगायतका क्षेत्रमा बिजुली आउने छैन ।
बालाजु वितरण केन्द्रको विष्णुमति फिडरअन्तर्गतको काठमाडौं महानगरपालिका १५ र १६ को चक्रपथ क्षेत्रमा विद्युतीय संरचनाहरु सार्न बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म वनस्थली, गंगाहल, माछापोखरी, बालाजु वाइपास, वसन्तनगर, न्यायीक प्रतिष्ठान, मनमैजु, लोकतान्त्रिक चोक, इन्द्रायणी पुल लगायतका क्षेत्रहरुमा लाइन अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।





