खोटाङ, १६ असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडा नं १४ बुइपाका १०३ वर्षीय छविलाल नेपालीलाई सम्मान गरेको छ । नगरपालिकाभरिकै सबैभन्दा ज्येष्ठ नागरिक नेपालीलाई सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दै नगरप्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणादेवी राई, वडाध्यक्ष दिनेश राईलगायतले दोसल्ला ओढाएर नगद रु २० हजारका साथमा सम्मानपत्र प्रदान गरेका छन् ।
नेपालीलाई सम्मान गर्न नगरप्रमुख रिजालको टोली बिहीबार बुइपास्थित नेपालीको घर दम्कु पुगेको थियो । शारीरिकरूपमा अझै पनि सक्रिय रहनुभएका नेपाली १०० वर्ष नाघेपछि उहाँलाई सामाजिक सुरक्षाभत्ता घरैमा लगेर प्रदान गर्ने गरिएको वडा कार्यालयले जानकारी दिनएको छ ।
ज्येष्ठ नागरिक नेपालीले कान कम सुने पनि उनि अझै स्पष्ट बोल्न र देख्न सक्ने अवस्थामा रहेका वडाध्यक्ष राईले बताए । “उनि यो उमेरमा पनि क्रियाशील छन् । उनलाई अहिलेसम्म खास रोग पनि देखिएको छैन”, उनले भने, “नृत्यकर्म आफैँ गर्छन । हिँडडुलदेखि घरका सामान्य कामसमेत सघाउने गर्छन ।”
विसं १९७५ वैशाख १५ गते जन्मनुभएका नेपालीलाई केही समयअघि वडा कार्यालय बुइपाले पनि दोसल्ला ओढाएर सम्मान गरेको थियो । नगरकै सबैभन्दा ज्येष्ठ नागरिक छविलालका चार छोरा र दुई छोरी छन् । नगरपालिकाले हरेक वडाका ज्येष्ठ नागरिकलाई सम्मान गर्दै आएको छ । पन्ध्र वडा रहेको यस नगरपालिकामा तीन हजारभन्दा बढी ज्येष्ठ नागरिक रहेको नगरप्रमुख रिजालले जानकारी दिएका छन् ।





