१६ माघ, काठमाडौं । निर्वाचन आयोगले आज नेकपाको दुई समुहसंग छलफल गर्दै छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानका लागि लागि आज निर्वाचन आयोगले दुवै पक्षसँग छलफलको तयारी गरेको हो ।
आयोगले नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेखेर ५÷५ जनाका दरले आयोगमा छलफलका लागि बोलाएको छ ।
आज बिहान ११ बजे दुवै अध्यक्ष र अध्यक्षले तोेकेका सदस्यसहित छलफलका लागि बहादुर भवनस्थित कार्यालयमा बोलाएको हो । आयोगले नेकपाको आधिकारिकताका विषयमा छलफल गर्ने नभनी निर्वाचनका विषयमा छलफल गर्ने उल्लेख गरेको छ ।
यसअघि नेकपाका दुबै पक्षले आफूलाई आधिकारिक दाबी गर्दै राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार अद्यावधिक गर्न पत्र लेखेको थियो । तर आयोगले ओली पक्षले थप गरेर बनाएको १५ सय सदस्यीय केन्द्रीय समिति र ओलीलाई कारबाही गर्ने प्रचण्ड–नेपाल पक्षको निर्णयलाई अस्वीकार गरिदिएको थियो ।
आयोगले विधानअनुसार चार सय ४१ जना केन्द्रीय सदस्य रहेको तथा ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपा नै आधिकारिक भएको निष्कर्ष दिएको थियो । अयोगको निर्णयलाई नेकपाका दुवै समूहले आफ्नो जितको रुपमा अथ्र्याएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेपछि नेकपा दुई समुहमा विभाजित भएको छ । एक समुहको नेतृत्व स्वयमं प्रधानमन्त्री ओलीले गरेका छन् भने अर्काे समुहको नेतृत्व पुष्पकमल दाहाल–माधवकुमार नेपालले गरिका छन् । दुई समुहले आफ्नो पार्टी आधिकारी भएको दाबी गर्दै आएका छन् ।





