२२ मंसिर, खोटाङ । हलेसी तुवाचुङ नगरपालिका(७ महादेवस्थानको कातिकेमा कपासखेती फस्टाउँदै गएको छ । दुई वर्षअघि नगरपालिकाको अनुदानबाट सुरु भएको कपास खेतीले अहिले उत्पादन दिन थालेको छ ।
आर्थिक वर्ष २०७७र७८ मा रु १० लाख बजेट विनियोजन गरेर कपासखेती प्रवर्द्धन गर्न सुरु गरिएकोमा चालु आवमा रु २० लाख बजेट विनियोजन भएको छ । नगरपालिकाबाट विनियोजित बजेटबाट अहिले करिब ८० रोपनी जग्गामा कपासखेती विस्तार गरिएको छ ।
विनियोजित बजेटबाट वडा नं ७ महादेवस्थानस्थित साविकको ६ र ९ नं वडामा कपास खेती गरिएको छ । महादेवस्थानका करिब ६० घर परिवारले कपास खेती गरिरहेका महादेविस्थानका वडाध्यक्ष एवं नगर प्रवक्ता कमल गिरीले बताए ।
सुरुमा कपासखेती गर्न नजान्दा रोग लागेर समस्या भए पनि अहिले सहज भएको स्थानीय गङ्गा राईले बताए । कृषकलाई नगरपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ ।
विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिर नजिकै रहेकाले कपासको बजारीकरणको चिन्ता नरहेको वडाध्यक्ष एवं नगर प्रवक्ता गिरीको भनाइ छ । “स्थानीयले जति कपास उत्पादन गरे पनि मन्दिरमा आवश्यक विभिन्न सामग्री निर्माणमा खपत हुन्छ”, उहाँले भन्नुभयो, “खाँडी कपडा बुन्नसकेमा झनै उनीहरुलाई फाइदा हुन्छ ।”
हलेसीका केही स्थानीय बासिन्दाले भने आफैँले उत्पादन गरेको कपासबाट खाँडी कपडा बुनिरहेका छन् । “पहिले हाम्रो पालामा खाँडी कपडाको चलन थियो । पछिल्लो समय अन्य कपडा आएपछि सबैले भुले । फेरि अहिले नयाँपुस्ताले यसलाई मन पराउन थालेका छन्”, लामो समयदेखि खाँडी कपडा बुन्दै आउनुभएकी ७९ वर्षीया जुनासरी राईले भने, “अहिले पनि धेरैले माग गर्छन् । तर, के गर्नु, कान सुन्दिन । आँखा देख्न छाडेँ । पहिलेजस्तो कपडा बुन्न सक्दिन । त्यही पनि यसो दुःख गर्दैछु ।”
कोगटी र ढ्याङ्ग्रे खेती गरेर कपास निकालेपछि कपडा तयार पर्ने गरिएको छ । कपासबाट उत्पादन गरिएको दौरा, सुरुवाल पुग्ने कपडा प्रतिथान रु १५ हजार र कोगटीको दौरा, सुरुवाल पुग्ने कपडा प्रतिथान रु २० हजारमा बिक्री हुने गरेको छ ।
कोगटीबाट उत्पादन गरिने खाँडी कपडाको माग बजारमा उच्च रहे पनि माग धान्न नसकिएको जुनासरी राईले बताउनुभयो । यसअघि हलेसी क्षेत्रमा उत्पादित खाँडी कपडा बाहिरी जिल्ला तथा विदेशसमेत निर्यात हुने गरेको थियो ।
बाबुबाजेको पालासम्म हलेसीका विभिन्न क्षेत्रमा कपासको धागोबाट खाँडीका कपडा उत्पादन गर्ने गरिएको थियो । स्थानीय कृषकले कपासखेती गर्न छाडेपछि कच्चापदार्थ अभावमा खाँडी कपडा बुन्ने पेसा लोप हुँदै गएको थियो ।
हलेसी आउने दर्शनार्थी तथा पर्यटकलाई हलेसी क्षेत्रमा उत्पादित खाँडी कपडा बिक्री गर्दा आम्दानीको स्रोतसमेत हुनेको गरेको थियो । पछिल्लो समय हलेसी आउने दर्शनार्थी तथा पर्यटकले खाँडी कपडा खोजे पनि उनीहरुलाई उपलब्ध गराउन नसकिएको उद्यमीहरुले बताउने गरेका छन् ।
कपास अभामा लोपोन्मुख बन्दै गएको खाँडी कपडा बुन्ने पेसालाई संरक्षण र प्रवर्द्धन गर्नु नगरपालिकाको दायित्व भएकाले बजेट विनियोजन गरिएको नगरप्रमुख विमला राईले बताए ।
“सुरुमा हामीले विभिन्न समूहमार्फत् थोरै जग्गामा कपासखेती सुरु गरेका थियौँ । अहिले करिब ८० रोपनी जग्गामा विस्तार गरिएको छ”, उनले भने, “रोजगारका लागि धेरै मानिस विदेश जाने गरेका छन् । तर हाम्रो पुर्ख्यौली पेसाबाट पनि हामीले जीविकोपार्जन गर्न सकिन्छ । त्यसैले कृषकलाई सोही पेसामा आत्मनिर्भर बनाउन कपासखेती कार्यक्रम सुरु गरिएको हो ।”
दश स्थानीय तह रहेको जिल्लामा खाँडी कपडा उत्पादन तथा अल्लो प्रशोधनका लागि सबैजसो स्थानीय तहले लगानी गरिरहेका छन् । साकेला गाउँपालिकाले मात्तिममा अल्लो प्रशोधन केन्द्र स्थापनाको कामलाई तीव्रगतिमा अगाडि बढाएको छ ।





