प्रदेश 2

प्रधानाध्यापकलाई पूर्व विद्यार्थीको एक लाख पुरस्कार

१९ फागुन, रौतहट । रौतहटको यमुना माई गाउँपालिका–३ का जाहुर आलमले म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माविमा तीन दशकसम्म समय अध्यापन गरे । विज्ञान विषयमा स्नातक उत्तीर्ण गरेपछि उनी जागिरको सिलसिलामा २०५० सालमा म्याग्दी आएको हो । आलमलाई तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर छन्त्यालले शिक्षा कार्यालयबाट अनुमति लिएर निजी स्रोतबाट विज्ञान शिक्षकको रूपमा नियुक्त गरेको थियो । जिल्ला सदरमुकाम बेनीदेखि पैदल हिँडेर दुई दिनमा विद्यालय पुग्नुभएका आलमले सुरुआतका दिनमा अग्ला पहाड र दुर्गम बस्तीको बसाई लाई बिट मार्ने सोच बताए। तर विद्यालयमा अध्यापन गर्दै जाँदा उहाँले तीन दशक एउटै विद्यालयमा बताए । आलमले पढाउन थाल्नुभएपछि २०५१ सालदेखि कक्षा ९ को पठनपाठन सुरु गरेर उक्त विद्यालयलाई माविमा स्तर वृद्धि गरिएको थियो । विसं २०५७ देखि विद्यालयमा उहाँले प्रधानाध्यापकको जिम्मेवारीसमेत बहन गरे । उहाँ आगामी २०८० असोज ३ गतेदेखि अनिवार्य अवकाश लिँदै छन् । आलमको योगदानको कदर गर्दै स्थानीयवासी र पूर्वविद्यार्थीले भव्य सम्मान गरेका छन् । विद्यालयका पूर्व विद्यार्थीको पहलमा मल्कबाङ समाज युकेले आलमलाई रु एक लाखसहित सम्मान पत्रद्वारा सम्मान गरेको छ । विद्यालयमा हालै आयोजित एक समारोहमा मल्कबाङ समाज युकेका अध्यक्ष शेर छन्त्यालले उहाँलाई नगदसहित सम्मानपत्र प्रदान गरे । “विद्यालयको स्तर वृद्धि गरी शिक्षण पेसाका माध्यमबाट आलमले पु¥पाएका योगदानको कदर गर्दै उहाँलाई सम्मानित गरिएको हो”, अध्यक्ष छन्त्यालले भने । सम्मान ग्रहणपश्चात् प्र अ आलमले गाउँलेको अपार मायाले आफूले दुर्गमको दुःख भुलेर शिक्षणमा रमाएरै तीन दशक बिताएको बताए । “वर्षौँसम्म पैदल हिँडेर पहाडको स्कुलमा आउने गर्थे, केही वर्षअघि मात्रै यहाँको गाउँमा मोटर बाटो आएको हो, बेनीदेखि यहाँ आउन हिजोका दिनमा निकै दुःख थियो, विद्यार्थी अभिभावकको स्नेह र आत्मीयताले मलाई यो स्कुल छाडेर हिँड्न मनै लागेन”, आलमले भने । विद्यालय सञ्चालनमा देश तथा विदेशमा रहेका मल्कबाङवासीले गर्ने सकारात्मक सहयोग र योगदानले आफू प्रभावित बनेको उनले अनुभव सुनाए । दुर्गम विद्यालयमा राज्यको ध्यान र पहुँच कम पुग्ने भए पनि समुदायको अग्रसरता र क्रियाशीलताले विद्यालय सञ्चालनमा ठुलो योगदान पुगेको उनको भनाइ छ । विद्यालयमा निजी शिक्षकको रूपमा कार्यरत रहेको दुई वर्षमा अस्थायी सरकारी कोटामा नाम निकालेर अन्यत्रको विद्यालयमा पदस्थापन भएपछि आलमलाई गाउँलेले शिक्षा कार्यालयमा धर्ना दिएर मन्त्रालयसम्म पुगेर विद्यालयमा मावि दरबन्दी थप गेर पुनः विद्यालयमै फर्काएका थिए । विसं २०५३ सालमा परीक्षा दिएर २०६० सालमा नजिता प्रकाशन भएको शिक्षक सेवा आयोगको माध्यमिक तह तृतीय श्रेणी पदमा उत्तीर्ण भएर स्थायी शिक्षक सेवामा प्रवेश गरेकाआलम २०६७ मा माध्यमिक तह द्वितीय श्रेणीमा बढुवा भएका थिए। आलमको परिवार भने रौतहटमै बस्दै आएको छ ।