२३ फागुन, पर्सा । पर्सा राष्ट्रिय निकुञ्जभित्र पानीको सहज रूपमा उपलब्ध भएसँगै पाटे बाघसहितका नवजन्तुको सङ्ख्या वृद्धि भएको छ ।
निकुञ्जले हालै गरेको सन् २०२२ को बाघ गणनाअनुसार निकुञ्जमा पाटे बाघको सङ्ख्या ४१ पुगेको छ । निकुञ्जले प्राकृतिक रूपमा कृत्रिम पोखरी निर्माण गरेपछि निकुञ्जमा वन्यजन्तुको सङ्ख्या बढ्दै गएको हो । त्यसै गरी निकुञ्जभित्र १६३ गौरीगाईं, ४० देखि ५० वटा जङ्गली हात्ती र आठदेखि १० वटाको सङ्ख्यामा एक सङ्गे गैँडा रहे पनि तथ्याङ्कमा तीन गैँडा मात्रै उल्लेख भएको निकुञ्जका प्रमुख अशोककुमार रामले जानकारी दिए। निकुञ्जले निर्माण गरेको कृत्रिम पोखरीमा पानीको सहज उपलब्धताका कारण पछिल्लो समय वन्यजन्तुहरूको सङ्ख्या वृद्धि भएको उनले बताए ।
करिब १६ हजार हेक्टर क्षेत्रफलमा फैलिएको सो निकुञ्जभित्र दुर्लभ पाटे बाघ, भालु, गैँडा, हात्ती, चित्तल, जरायो, चितुवा, जङ्गली कुकुर, नीलगाई र गौरीगाईं जस्ता ३७ प्रजातिका स्तनधारी जनावर, चार सय ९० प्रजातिका चराचुरुङ्गी, १३ प्रजातिका सरीसृप र ३१ प्रजातिका पुतलीको वासस्थान छ । निकुञ्ज नेपालमा पाइने रैथाने हात्तीको वासस्थान संरक्षण गर्ने उद्देश्यले विसं २०४० मा बारा, पर्सा र मकवानपुरसँग सीमा जोडिएको जङ्गल क्षेत्रलाई समेटेर बनाइएको हो ।
नेतृत्व चयन प्रक्रिया सुरु
वीरगन्ज उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्व चयनका लागि प्रक्रिया सुरु भएको छ । निर्वाचन प्रक्रियाअनुसार कार्यसमितिका सदस्यको मनोनयन दर्ता गरिएको छ ।
मनोनयन दर्ता गराएकामध्ये वस्तुगत सङ्घतर्फबाट सदस्यमा हरि पन्त निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत बालसुन्दर खरेलले जानकारी दिए। वस्तुगत सङ्घतर्फका सदस्यमा पन्तको मात्र उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत खरेलले बताए। उद्योगतर्फ १३, वाणिज्यतर्फबाट १६, एशोसियट तर्फबाट छ र वस्तुगत तर्फबाट एक गरी सङ्घमा ३५ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ ।
उद्योगतर्फ १८, वाणिज्यतर्फ २५, एशोसियट तर्फ आठ र वस्तुगततर्फ एक जनाको मात्रै उम्मेदवारी परेको निर्वाचन अधिकृत खरेलले जानकारी दिए। फागुन २४ गते मनोनयन फिर्ता दिने समय तोकिएको छ भने ३० गते कार्य समिति सदस्यका लागि निर्वाचन गर्ने तालिका छ । कार्य समिति सदस्य चयन भए लगत्तै पदाधिकारी निर्वाचनका लागि कार्य तालिका सार्वजनिक गरिने निर्वाचन अधिकृत खरेलले बताए।
कार्य समिति सदस्य मध्येबाटै ११ पदाधिकारी चयन गर्ने व्यवस्था सङ्घको छ ।





