समाचार

प्रहरी कुटपिट प्रकरण: मुख्य योजनाकार भनिएका एमाले अखिलका नेतालाई ७ हिरासतमा राख्न अनुमति 

२ फागुन, काठमाडौँ । ठमेलमा प्रहरी कुटेको आरोपमा पक्राउ परेका एमाले अखिलका स्थायी कमिटी सदस्य कमलराज जोशीलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । बिहीबार साँझ बानेश्वरबाट पक्राउ परेका जोशीलाई थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौँले अनुमति दिएको हो। 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार अभद्र व्यवहारको कसुरमा सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको हो। यसअघि गत आइतबार मात्रै ताप्लेजुङको फुङलिङ नगरपालिका–१ घर भएका २६ वर्षीय दिनेश सिग्देल र डडेल्धुराको गन्यापधुरा गाउँपालिका–५ का २२ वर्षीय रमेश फुलारा पक्राउ परेका थिए ।

तर सोही समूहका प्रहरी कुटपिटमा संलग्न भनी पक्राउ पुर्जी जारी भएका नवीन ऐरी, सौजन्य शाही र गोपालबहादुर शाही भने अहिलेसम्म फरार छन् ।

जोशीको समूहले २४ माघमा राति ठमेल ड्युटी खटिएका प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज बिष्टलाई कुटपिट गरेको थियो ।

दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टीम (क्यूआरटी) को टोलीमाथि उक्त समूहले आक्रमण गरेको थियो । मध्यराति होहल्ला गर्दै हिँडेपछि प्रहरीले उनीहरूलाई सम्झाउन खोज्दा मोटरसाइकलमा सवार दुई प्रहरीको मोटरसाइकल लडाउँदै कुटपिट गरिएको थियो। 

 अमृत साइन्स क्याम्पस (अस्कल) मा अध्ययनरत सबै नेकपा एमालेको विद्यार्थी सङ्गठनमा आबद्ध छन् ।