मनोरञ्जन

अदालतको आदेशपछि ‘लालीबजार’ प्रदर्शनको बाटो खुल्यो

२३ वैशाख, काठमाडौं । चलचित्र ‘लालीबजार’ प्रदर्शनमा देखिएको अवरोध हटेको छ। उच्च अदालत पाटनले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन आवश्यक नदेखिएको ठहर गर्दै फिल्म प्रदर्शनका लागि बाटो खुला गरिदिएको हो।

न्यायाधीश खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले रिट निवेदनमा उठाइएका विषय अन्तिम सुनुवाइमा विस्तृत रूपमा विचार गर्न सकिने भन्दै तत्कालका लागि रोक लगाइरहनुपर्ने अवस्था नरहेको जनाएको छ।

यसअघि वैशाख १५ मा जारी गरिएको अन्तरिम आदेशका कारण फिल्म प्रदर्शन अन्योलमा परेको थियो। अदालतको पछिल्लो आदेशसँगै अब ‘लालीबजार’ सार्वजनिक प्रदर्शनमा आउन सक्ने भएको छ।