२३ असार, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा सुरु भएको छ। सोमबार उद्घाटन गरिएको उक्त सम्पर्क कार्यालयमा बस्ने भनिएको बैठक निर्धारित समयभन्दा करिब एक घण्टा ढिलो सुरु भएको हो।
बैठकमा पार्टीभित्रको एकता प्रयासको वर्तमान अवस्था, आगामी रणनीति तथा साउन ६ गते मनाइने बीपी स्मृति दिवसको कार्यक्रमबारे मुख्य रूपमा छलफल भइरहेको स्रोतले जनाएको छ। बीपी स्मृति दिवस मनाउने स्थान, कार्यक्रमको स्वरूप र कार्यतालिका आजको बैठकबाट तय गर्ने तयारी छ।
यसअघि सोमबारको बैठकपछि नेता मीन विश्वकर्माले पार्टी एकताको प्रयास कहाँसम्म पुगेको छ भन्ने विषयमा समीक्षा गर्दै आगामी कदमबारे निर्णय लिइने बताएका थिए। उनले बीपी स्मृति दिवसलाई काठमाडौंमा ऐतिहासिक रूपमा मनाउने तयारी भइरहेको र त्यसको विस्तृत कार्यतालिका आजको बैठकले टुंगो लगाउने जानकारी दिएका थिए।
बैठकमा कांग्रेसको १५औं महाधिवेशनको तयारीबारे पनि छलफल भइरहेको छ। संस्थापन इतर समूहले महाधिवेशन लक्षित गतिविधि, कार्यतालिका तथा सम्पर्क कार्यालयमार्फत सञ्चालन गरिने कार्यक्रमबारे समेत निर्णय गर्ने तयारी गरेको छ।
बैठकको नेतृत्व नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरिरहेका छन्।





