२३ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति सार्वजनिक गर्दै निजी क्षेत्रमा प्रवाह हुने कर्जा ११ प्रतिशतले वृद्धि गर्ने लक्ष्य तय गरेको छ। साथै, मुद्रास्फीति दर ५.५ प्रतिशतभित्र सीमित राख्ने लक्ष्य पनि लिइएको छ।
गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले सार्वजनिक गरेको मौद्रिक नीतिमा अघिल्लो वर्ष अवलम्बन गरिएको लचिलो मौद्रिक नीति आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइएको उल्लेख गरिएको छ।
मौद्रिक नीतिअनुसार बैंक तथा वित्तीय संस्थाले शाखा स्थापना तथा समायोजन गर्न थप सहज व्यवस्था गरिनेछ। साथै, बैंकिङ क्षेत्रको सञ्चालन लागत घटाउन आवश्यक नीतिगत व्यवस्था पनि गरिने जनाइएको छ।
राष्ट्र बैंकले बैंक दर, नीतिगत दर, निक्षेप संकलन दर, अनिवार्य नगद मौज्दात (CRR) र वैधानिक तरलता अनुपात (SLR) भने हाल कायम रहेको अवस्थामै निरन्तरता दिने निर्णय गरेको गभर्नर पौडेलले जानकारी दिए।
नयाँ मौद्रिक नीतिले कर्जा विस्तारलाई प्रोत्साहन गर्दै मूल्य स्थायित्व कायम राख्ने र वित्तीय प्रणालीलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको राष्ट्र बैंकको भनाइ छ।





