२४ असार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतबाट सफाइ पाएपछि पनि तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापा रिहा भएका छैनन्। कारागारबाट बाहिरिने प्रक्रियामै उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ।
सुन्धारास्थित केन्द्रीय कारागार प्रशासनका अनुसार अदालतको आदेशपछि थापामाथिको थुना समाप्त भए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उपस्थित गराइदिन पत्राचार गरेकाले उनलाई सम्बन्धित निकायमा पठाइएको हो।
कारागार प्रशासनले अब प्रतीक थापाको थप प्रक्रिया अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमार्फत अघि बढ्ने जनाएको छ। त्यसैले उनी रिहा हुने वा नहुने विषय अब ती निकायले गर्ने कानुनी प्रक्रियामा निर्भर रहनेछ।
यसअघि जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतीक थापालाई सफाइ दिएको थियो। तर, अन्य अनुसन्धानका प्रक्रिया बाँकी रहेकाले उनी कारागारबाट सिधै घर फर्कन नपाएका हुन्।





