समाचार

सरकारका चार अध्यादेश अघि बढे, राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

२५ असार, काठमाडौं । राष्ट्रिय सभाले सरकारले अघि बढाएका चार वटा अध्यादेश प्रतिस्थापन विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ। बिहीबार बसेको बैठकले सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण, सहकारी तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्बन्धित विधेयकलाई स्वीकृति दिएको हो।

यसअघि प्रतिनिधिसभाबाट पारित भइसकेका यी विधेयक राष्ट्रिय सभामा दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको थियो। समितिले छलफल सम्पन्न गरी प्रतिवेदन पेश गरेपछि राष्ट्रिय सभाले चारै विधेयक पारित गरेको हो।

अब राष्ट्रिय सभाबाट भएका संशोधन प्रतिनिधिसभाले स्वीकार गरेपछि विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइनेछ। राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ती विधेयक ऐनका रूपमा लागू हुनेछन्।

सरकारले संसद् अधिवेशन नरहेका बेला गत वैशाख १४ गते आठ वटा अध्यादेश जारी गरेको थियो। संवैधानिक व्यवस्था अनुसार ती अध्यादेशलाई निश्चित समयभित्र प्रतिस्थापन विधेयकमार्फत संसद्का दुवै सदनबाट पारित गराउनुपर्ने हुन्छ। सरकारले भने तीमध्ये चार वटा अध्यादेशलाई मात्रै प्रतिस्थापन विधेयकका रूपमा अघि बढाएको हो।