२५ असार, काठमाडौं । राष्ट्रिय सभाले एकै दिन ६ वटा विधेयक पारित गरेको छ। बिहीबार बसेको बैठकले चार वटा अध्यादेश प्रतिस्थापन विधेयक र दुई वटा बजेट आश्रित विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको हो।
राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले बैठकमा चार वटा अध्यादेश प्रतिस्थापन विधेयक संसदीय समितिमा विस्तृत छलफलपछि र दुई वटा बजेट आश्रित विधेयक सभामै छलफल गरी एकै दिन पारित गरिएको जानकारी दिए।
उनले राष्ट्रिय सभाले संसदीय प्रक्रिया पूरा गर्दै एकै दिन महत्वपूर्ण ६ वटा विधेयक पारित गर्न सफल भएको बताए।
यसअघि राष्ट्रिय सभाले चार वटा अध्यादेश प्रतिस्थापन विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको थियो। समितिले छलफल सकेर प्रतिवेदन बुझाएपछि ती विधेयक बैठकबाट पारित भएका हुन्।
पारित भएका विधेयक अब प्रतिनिधिसभामा पठाइएको छ। प्रतिनिधिसभाले आवश्यक प्रक्रिया पूरा गरेपछि यी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष जानेछन्।
१. सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक
२. सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक
३. सहकारी (पहिलो संशोधन) विधेयक
४. स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक ।
यसबाहेक थप दुई वटा विधेयक पनि राष्ट्रिय सभाले बिहीबार नै पारित गर्यो ।
१. आर्थिक विधेयक २०८३
२. राष्ट्र ऋण उठाउने विधेयक २०८३





