२५ असार, काठमाडौं । देशका ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानले नयाँ उपकुलपति पाएका छन्। उपकुलपति छनोट समितिको सिफारिसका आधारमा प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले विभिन्न प्रतिष्ठानका लागि उपकुलपति नियुक्त गरेका हुन्।
नियुक्तिअनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विवेक आचार्य नियुक्त भएका छन्। उनी यसअघि न्याम्सको क्यान्सर विभाग प्रमुखका रूपमा कार्यरत थिए।
त्यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. नविसमान सिंह प्रधान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. स्मृति कार्की नियुक्त भएका छन्।
यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. नारायणसिंह गुरुङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. सूर्यमान म्याहाङम्बो र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. अजयकुमार मिश्र नियुक्त भएका छन्।
उपकुलपति छनोटका लागि सरकारले छनोट तथा सिफारिस समिति गठन गरेको थियो। समितिले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ अनुसार प्रक्रिया अघि बढाएको थियो।
समितिले जेठ ४ गते उपकुलपतिका लागि आवेदन आह्वान गरेको थियो। त्यसमा ११३ जनाले आवेदन दिएका थिए। आवेदन मूल्यांकनपछि प्रत्येक प्रतिष्ठानका लागि सात जनाका दरले ४२ जनाको प्रारम्भिक सूची सार्वजनिक गरिएको थियो।
त्यसपछि अन्तर्वार्ता र प्रस्तुतीकरणलगायत प्रक्रिया पूरा गरी समितिले गरेको सिफारिसका आधारमा सरकारले ६ वटा प्रतिष्ठानका लागि नयाँ उपकुलपति नियुक्त गरेको हो।





