समाचार

गृहमन्त्रीको एक वाक्यले किन तात्यो प्रतिनिधिसभा ?

२६ असार, काठमाडौं ।  गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा प्रयोग गरेको ‘घाँटी सुक्नेगरी’ भन्ने अभिव्यक्तिलाई लिएर विवाद उत्पन्न भएको छ । नेकपा सांसद गोपाल शर्माले उक्त शब्द संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्रीको अभिव्यक्ति सांसद र संसद्को मर्यादामाथि प्रहार भएको दाबी गरे । उनले सदनमा उठाइएका विषयलाई जिम्मेवार ढंगले सम्बोधन गर्नुपर्ने भन्दै मन्त्रीको भनाइप्रति आपत्ति जनाएका हुन् ।

मुगुको गणेश नेपाली घटनाबारे सांसदहरूले सरकारसँग जवाफ मागेपछि गृहमन्त्री गुरुङले जवाफ दिने क्रममा ‘घाँटी सुक्नेगरी कराएर मात्रै नहुने’ बताएका थिए । उनले घटनाबारे आवाज उठाउने सांसदहरूलाई लक्षित गर्दै यस्तो अभिव्यक्ति दिएका थिए ।

सांसद शर्माले सरकारलाई प्रश्न गर्नु सांसदहरूको जिम्मेवारी भएको भन्दै संसद्मा उठेका विषयलाई चिच्याएको रूपमा व्याख्या गर्न नमिल्ने बताए ।

उनले भने, “सदनमा सांसदहरूले उठाएका विषयलाई सम्मानपूर्वक लिनुपर्छ । जिम्मेवार मन्त्रीबाट आएको यस्तो अभिव्यक्ति संसद् र सांसदहरूको अपमान हो, त्यसैले उक्त शब्द रेकर्डबाट हटाइयोस्।”

गृहमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर संसद्मा सत्तापक्ष र प्रतिपक्षबीच बहस चर्किने देखिएको छ ।