२९ असार, काठमाडौं । लगातारको वर्षापछि बढेको पहिरोको जोखिमका कारण मुग्लिन–नारायणगढ सडक खण्डमा तत्कालका लागि सवारीसाधन सञ्चालन रोकिएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै अर्को सूचना जारी नभएसम्म उक्त सडकमार्गमा सवारी आवागमन स्थगित गरिएको जनाएको छ।
सडक डिभिजन भरतपुरका अनुसार तुइन खोलाको क्षेत्रमा माथिबाट निरन्तर ढुंगा खसिरहेकाले सडक दुवैतर्फ अवरुद्ध बनेको छ। त्यस्तै, सेती दोभान क्षेत्रमा लेदो र पहिरो खसेपछि सवारी आवागमन थप प्रभावित भएको छ।
सोमबार साँझदेखि निरन्तर भारी वर्षा भइरहेकाले पहिरो हटाउने कामसमेत प्रभावित भएको सडक डिभिजनले जनाएको छ।
प्रशासनले अत्यावश्यक कामबाहेक उक्त सडकमार्ग प्रयोग नगर्न र यात्रु तथा चालकलाई मौसम र सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ।





