ब्रेकिङ न्युज

आङ्देम्बेको टिप्पणी : गाडीले गेट छेक्न सकिएला, जनआवाज छेक्न सकिन्न

३० असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सञ्चारगृह तथा कांग्रेस सभापति गगनकुमार थापाको निवासअगाडि शंकास्पद रूपमा सवारी साधन पार्क गरिएको घटनाप्रति सरकारको आलोचना गरेका छन्।

उनले लोकतन्त्रमा सरकारको सबैभन्दा ठूलो शक्ति आलोचना सहने क्षमता भएको उल्लेख गर्दै आलोचनाबाट डराउने सरकारले प्रश्न उठाउने पक्षलाई नै निशाना बनाउन खोज्ने प्रवृत्ति देखिएको टिप्पणी गरेका छन् ।
आङ्देम्बेले कान्तिपुर, अनलाइनखबर, हिमालयन टेलिभिजन, भाटभटेनी सुपरमार्केट तथा कांग्रेस सभापति गगन थापाको निवासअगाडि गाडी पार्क गरिएको घटनालाई सामान्य संयोगका रूपमा लिन नसकिने बताएका छन्।

उनले गेटअगाडि गाडी राख्नु केवल बाटो छेक्ने कार्य नभई स्वतन्त्र प्रेस र विपक्षी नेतृत्वमाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्ने तथा प्रश्न गरे परिणाम भोग्नुपर्छु भन्ने सन्देश दिन खोजिएको प्रयास भएको बताएका छन् ।

उनले वर्तमान समयमा सहकारीपीडित, मिटरब्याजपीडित, सुकुम्बासी, बेरोजगारी तथा सुशासनका विषयमा सरकारमाथि निरन्तर प्रश्न उठिरहेको उल्लेख गर्दै यस्ता विषयमा जवाफ दिन नसकेको सरकारले सञ्चारमाध्यम र प्रतिपक्षमाथि दबाब सिर्जना गर्ने शैली अपनाएको आरोप लगाए।

आङ्देम्बेले राज्यसँग सम्बन्धित विभिन्न घटनामा आत्मदाह तथा आत्महत्यासम्मका दुःखद घटनाहरू भएको स्मरण गराउँदै नागरिकका समस्या समाधान गर्नु सरकारको दायित्व भएको बताए।

उनले सञ्चारमाध्यम र प्रतिपक्ष सरकारका शत्रु नभई राज्यका गतिविधि जनतासामु प्रस्तुत गर्ने ऐना भएको उल्लेख गरे। ऐना फुटाएर अनुहार सुन्दर देखिँदैन, भन्दै उनले स्वतन्त्र प्रेसमाथि दबाब सिर्जना गर्ने कुनै पनि प्रयास लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुने बताए।

धारणाको अन्त्यमा आङ्देम्बेले गाडीले गेट छेक्न सकिएला, तर जनआवाज र प्रश्नहरूको बाटो छेक्न सकिँदैनू भन्दै लोकतान्त्रिक व्यवस्थामा स्वतन्त्र अभिव्यक्ति र आलोचनात्मक आवाजलाई रोक्न नसकिने बताएका छन्।