ब्रेकिङ न्युज

बालकृष्ण खाणलाई कति भयो सजाय ? अदालतले गर्‍यो फैसला सार्वजनिक

३० असार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई जिल्ला अदालत काठमाडौंले २ वर्ष कैद सजाय सुनाएको छ।

मंगलबार भएको सजाय निर्धारणसम्बन्धी सुनुवाइपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश तेजबहादुर खड्काको इजलासले खाणलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना तोकेको हो।

अदालतले विभिन्न कसुरमा छुट्टाछुट्टै सजाय निर्धारण गरेको थियो। ठगी मुद्दामा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिबाना, संगठित अपराधमा १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिबाना तथा राज्यविरुद्धको कसुरमा ६ महिना कैद र ५ हजार रुपैयाँ जरिबाना तोकिएको छ।

यी सबै सजायलाई एकीकृत गर्दै अदालतले खाणलाई अन्तिम रूपमा २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको हो।

यसअघि असार २४ गते जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा १६ जनालाई दोषी ठहर गरेको थियो भने ७ जनालाई सफाइ दिएको थियो। सोही फैसलाअनुसार मंगलबार सजाय निर्धारण गरिएको हो।