१ साउन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक शुक्रबार ७९.७४ अंकले उकालो लाग्दै २,६७७ अंकमा पुगेको छ। लगातार चौथो दिन बजारमा सुधार देखिँदा लगानीकर्ताको मनोबल पनि उच्च बनेको छ।
कारोबार सुरु भएदेखि नै सकारात्मक लयमा रहेको बजार बन्द हुँदासम्म निरन्तर बढ्यो। यो वृद्धि पछिल्ला केही महिनायताकै सबैभन्दा ठूलो दैनिक उकालो हो।
नेपाल राष्ट्र बैंकले सबल कम्पनीका सेयर धितोमा ८० प्रतिशतसम्म कर्जा दिन सकिने व्यवस्था लागू गरेपछि बजारमा उत्साह थपिएको विश्लेषण गरिएको छ। यसअघि कायम ७० प्रतिशतको सीमा सबल कम्पनीका लागि बढाइएकाले लगानीकर्ताको मनोविज्ञान सकारात्मक बनेको हो।
शुक्रबार २५७ कम्पनीको सेयर मूल्य बढ्दा १४ कम्पनीको घट्यो भने तीन कम्पनीको मूल्य स्थिर रह्यो। जलविद्युत्, उत्पादन तथा प्रशोधन र लगानी समूहमा चार प्रतिशतभन्दा बढी वृद्धि देखिएको छ भने अन्य सबै उपसूचक पनि हरियालीमा रहे।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य घटेर ४ अर्ब ५३ करोड रुपैयाँमा सीमित रह्यो। अघिल्लो दिन ठूलो परिमाणमा ऋणपत्र कारोबार भएकाले कारोबार रकम बढी देखिएको थियो।
आज श्रीनगर एग्रिटेक र सूर्यकुण्ड हाइड्रोको सेयर मूल्य १५ प्रतिशतले बढ्यो। शिखर पावर, रिजलाइन इनर्जी, मिड सोलु हाइड्रोपावर, सिटी होटल, थ्रीस्टार हाइड्रोपावर, भुजुङ हाइड्रोपावर र नेसनल हाइड्रोपावरको मूल्य पनि दोहोरो अंकले उकालो लाग्यो। विपरीत रूपमा आत्मनिर्भर लघुवित्तको सेयर मूल्य १५ प्रतिशतले घट्दा फर्स्ट माइक्रोफाइनान्स र कर्पोरेट डेभलपमेन्ट बैंक पनि घट्ने सूचीमा परे।
विश्लेषकहरूका अनुसार असार मसान्तको दबाब हट्नुका साथै राष्ट्र बैंकको नयाँ सेयर धितो कर्जा व्यवस्थाले बजारमा सकारात्मक संकेत दिएकाले लगानीकर्ताको विश्वास बलियो बनेको छ। त्यसको प्रभाव शुक्रबारको कारोबारमा स्पष्ट रूपमा देखिएको छ।




