समाचार

गृहमन्त्रीको ‘फिल्ड अपरेशन’ले किन उठायो विवाद ?

१ साउन, काठमाडौं । आन्दोलनरत मिटरब्याज पीडितसँग सरकारले नौ बुँदे सहमति गरेसँगै नौ दिनदेखि जारी आन्दोलन स्थगित भएको छ। यहीबीच गृहमन्त्री सुधन गुरुङले पर्साको ठोरीस्थित दुई होटलमा आफैं पुगेर छापा मार्दै नौ जनालाई नियन्त्रणमा लिएपछि उनको कार्यशैलीलाई लिएर बहस सुरु भएको छ।

मिटरब्याज पीडितसँग वार्ताका लागि सिमरा पुगेका गृहमन्त्री गुरुङ छलफल निष्कर्षमा नपुगेपछि काठमाडौं फर्किने क्रममा ठोरी पुगेका थिए। स्थानीयबाट होटलमा अनैतिक गतिविधि भइरहेको सूचना पाएपछि उनी सुरक्षाकर्मीसहित दुई होटलमा पुगेका थिए। त्यस क्रममा सात युवती र दुई होटल सञ्चालकसहित नौ जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय ठोरी लगिएको स्रोतले जनाएको छ।

घटनाको समयमा जिल्ला प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई पूर्वजानकारी नभएको, छापा सकिएपछि मात्रै उनीहरूलाई घटनास्थल बोलाइएको बताइएको छ। पक्राउ परेकामाथि रंगेहात कुनै आपराधिक गतिविधि गरेको आरोप पुष्टि नभएकाले कारबाहीको कानुनी आधारमाथि समेत प्रश्न उठेको छ।

गृहमन्त्री आफैं फिल्डमा उत्रिएर छापा सञ्चालन गर्नु प्रहरीको नियमित जिम्मेवारीमा हस्तक्षेप भएको भन्दै पूर्वसुरक्षा अधिकारीहरूले आलोचना गरेका छन्। उनीहरूका अनुसार यस्ता अपरेशन प्रहरी नेतृत्वमार्फत हुनुपर्ने हो, विभागीय मन्त्रीले प्रत्यक्ष सञ्चालन गर्नु उपयुक्त अभ्यास होइन।

पूर्वप्रहरी अधिकारीहरूले गृहमन्त्रीले नीतिगत सुधार, प्रहरी व्यवस्थापन र सुरक्षा संयन्त्र सुदृढीकरणमा ध्यान दिनुपर्नेमा प्रत्यक्ष अपरेशनमा संलग्न हुँदा प्रहरीको मनोबलमा असर पर्ने टिप्पणी गरेका छन्।

छापा कारबाहीपछि गृहमन्त्री गुरुङ चितवनतर्फ प्रस्थान गरेका थिए। त्यसक्रममा भारतसँगको खुला सीमाबाट हुने तस्करी तथा लागूऔषध ओसारपसार नियन्त्रणका लागि सीमा क्षेत्रमा निगरानी बढाउने र सीसीटीभी जडान गर्ने योजना रहेको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।