पु.समाचार

मन्त्रीको हेलिकोप्टरको हावाले उडाएको काठले लागेर ९० वर्षीय वृद्ध घाइते

काठमाडौ । नेपालका मन्त्रीहरु सामान्य कार्यक्रममा पनि हेलिकोप्टर चढेर जाने र राज्यको सम्पतिको दूरुपयोग गरेको खबरहरु पछिल्ला समयमा आइरहेका छन् । त्यस्तै पछिल्लो नयाँ सरकारका एक मन्त्रीले पनि सो कार्यलाई निरन्तरता दिएका छन् ।

वाणिज्य मन्त्री रोमी गौचन विद्यालयको एक सामान्य कार्यक्रममा हेलिकोप्टर चढेर पुगेका छन् । थकाली गोरखा जिल्लाको महालक्ष्मी उच्च माविको नवनिर्मित भवन उद्घाटन गर्नका लागि लाखौ रुपैया खर्चेर हेलिकोप्टर चढी त्यहाँ पुगेका हुन् । जबकी काठमाण्डुबाट सो स्थानमा पुग्न करिब १ सय ५० किलोमिटर मात्र यात्रा गर्नुपर्छ ।

मंगलबार करिब दिउँसो साढे एक बजे कार्यक्रम स्थल पुगेको मन्त्री थकाली चढेको हेलिकोप्टर अवतरण हुँदा एक बृद्ध घाइते समेत भएका छन् । उनी चढेको हेलिकोप्टर अवतरण हुन लाग्दा हावाले उडाएको प्रवेशद्धारको काठ लागेर ताप्ले ९ का ९० वर्षीय हरिप्रसाद भट्ट घाइते भएका छन् । स्थानीय कलाधर भट्टका अनुसार उनको टाउकोमा चोट लागेको भन्दै बुधबारको अन्नपूर्ण पोष्टमा समाचार लेखिएको छ ।

एक घन्टा कर्यक्रमस्थल बसेपछि उनी हेलिकप्टरमै गोरखा सदरमुकाम फर्केका थिए । सदरमुकाममा कार्यालय प्रमुखहरूसँग अन्तरक्रिया गरी उनी अपराहृन काठमाडौं फर्किए ।

विद्यालयका अध्यक्ष देवीप्रसाद श्रेष्ठले हेलिकप्टरको खर्च मन्त्री आफैले बेहोरेको बताए ।

गाउँको एउटा विद्यालय भवन उद्घाटन गर्न हेलिकोप्टर उडाएर तडकभडक देखाएकोप्रति स्थानीयबासी भने सन्तुष्ट छैनन् । ‘भूकम्पले आहात बनाएको ठाउँमा यस्तो तडकभडक सुहाएन’ माओवादी केन्द्रका गाउँ संयोजक समेत रहेका भट्टले भने, ‘आफू उद्घाटन गर्दै हिड्दिन भन्ने प्रधानमन्त्रीले मन्त्रीलाई यस्तो तडकभडक गर्न दिनु ठिक भएन ।’ प्रधानमन्त्रीले आफ्ना मन्त्रीलाई नियन्त्रणमा राख्न नसकेको समेत उनले टिप्पणी गरे ।