खेलकुद

पार्टीलाई होइन, खेलाडीको शान बचाउने छु : मन्त्री केसी

काठमाण्डौ, २४ साउन । युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले खेलाडीहरुको प्रतिभा मर्न नदिने बताएका छन् । मंगलबार हरिहर भवनस्थित आफ्नै निवासमा आयाजित दक्षिण एसियाली तथा एसियाली खेलकुदका पदाकिारीको सम्मान कार्यक्रममा मन्त्री केसीले खेलाडीको प्रतिभा मर्न नदिने बताएका हुन् ।
मन्त्री केसीले खेलकुदमा राजनीति हुन नदिने प्रतिबद्धता जनाउदै परिश्रम र मेहनत गर्ने खेलाडीको सम्मानमा कुनै कमि नआउने उल्लेख गरे । १३ औं दक्षिण एसियाली खेलकुदको मुख्य चुनौती पूर्वाधार भएको बताउदै मन्त्री केसीले खेलकुदका पूर्वाधार भएका अन्य निकायसंग पनि जानकारी लिइरहेको बताए ।

१३ औं सागको तयारीका लागि धेरै समय नभएको भन्दै यसको पूर्वाधारमा मुख्य चुनौति भएको बताए । उनले भने ‘हामीसंग कम पूर्वाधार छन् । भएका पूर्वाधार पनि भूकम्पले क्षति पुर्याएको छ । पूर्वाधारका सम्बन्धमा सुरक्षा निकायमा रहेका खेलकुदका पूर्वाधारका बारेमा पनि जानकारी लिने प्रयासमा छु । पोखरालाई पनि ध्यानमा राखिएको छ ।’

खेलकुद मन्त्री केसीले आफू कांग्रेस पार्टीको भएपनि कांग्रेसलाई सहयोग गर्न नभइ समग्र खेलकुदको विकास र खेलाडीको हितमा काम गर्न आएको बताए । उनले खेलाडीको शिर झुक्न नभइ उच्च बनाउन आफ्नो भूमिका रहने पनि उल्लेख गरे । मन्त्री केसीले खेलाडीको वृत्ति विकास र सम्मान कसरी हुन सक्छ त्यसमा विषयमा सकारात्मक सुझाव दिन पनि खेलाडीलाई आग्रह गरे ।