विचार/ब्लग

दिनदिनै एक्लिँदैछन् ओली, राजीनामा देलान् !

शोभा रावत् / वर्तमान ओली सरकार पटक–पटक किन तानिन्छ बिबादमा ? केहिले के त कहिले के, दिनहुँजसो एउटा–एउटा काण्डका कारण सरकारको चौतर्फि बिरोध हुने गरेको छ । के कतैबाट पनि स्याबासी पाउने काम गर्न नसकेको हो त ? केही राम्रो काम पनि गरेको होला नि ओली सरकारले ! दिनहुँजसो केहि न केहि कारण आलोचित भईरहेको देखिएको छ, दुई बर्ष अगाडी ओली सरकार बनेदेखी नै ।झण्डै दुईतिहाई मतको शक्तीसाली प्रधानमन्त्री रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको सरकार रहेको छ । नेकपा नेतृत्व दुई अध्यक्षले गरिरहेका छन् केपी शर्मा ओली र पुष्पकमल दाहाल ।

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी मिलेर बनेको नेकपाको सरकारले दुई वर्षपनि पुरा गरिसकेको छ । ओली प्रधानमन्त्री बनेको यो दुई वर्षमा मुलुकमा भ्रष्टाचार बढेको, अत्याधिक काण्डहरु भएका छन्, यसै कारण सरकार जनस्तरमा अत्याधिक आलोचित बनेको छ । पछिल्लो समय नेतृत्व र आफ्नै प्रवक्ताका कारण झनै बिबादमा तानिएको छ । कुनै बेला दुई तिहाईको तक्मा समेत पाएको सरकार मधेसवादी दल उपेन्द्र यादबको दलले छाडेर गएपछि त्यो तक्मा भने गुमायो त्यही भएपनि सरकार शक्तिसाली नै छ आजपनि । संबिधान संसोधन लगायतका मागमा ओली सरकार सकारात्मक नदेखिएको भन्दै उक्त दलले सरकार छाडेको थियो । सरकार गठन भएको दुई बर्षमा सरकारले राम्रा भन्दा पनि जनबिरोधी कार्य गरेको भनेर हररेक स्थानदेखी बिरोध भईरहेको छ । कहिले के काण्ड–कहिले के काण्डकाका कारण सरकारले आफनो अस्तित्व गुमाएको मात्रै छैन जनताको नजरमा समेत गिरिसकेको छ ।

यस्तै सरकारका हरेक कार्य बिरोधपुर्ण बन्दै गएका हुन्छन् । सुचना प्रविधि विधेयक, गुठी विधेयक, वाईडबडी कण्ड, नयारोबडी काण्ड, ३८ सय कुईन्टल सुन काण्ड जस्ता तमाम जनबिरोधी कार्यमा सरकारको सदनदेखी सडकसम्म चर्काे बिरोध भईरहेको छ । यति मात्रै होईन मुलुकमा सरकार बनेदेखी सुरुभएका हरेक काण्डका कारण पनि ओली सरकार थप आलोचित बन्दै गएको छ ।  यती काण्ड, सुनकाण्ड, निर्मलाका हत्यारा पत्ता नलगाउनु, बालुवाटार जग्गा काण्ड, हुँदै पछिल्लो समय सञ्चारमन्त्रीको सेक्युरिटी प्रिन्टिङ पे्रेस खरिदमा ७० करोड कमिशनको अडियो टेप प्रकरणदेखी हाल सालै प्रधानमन्त्री ओलीको जन्मदिनको केक काण्डले ओलीको प्रधानमन्त्री पदलाई नै यतिवेला धरापमा पारिदिएको छ ।

आफुहरुलाई कम्युनिष्ट भन्ने ओलीले कुनै राजा –महाराजाको जस्तै भव्य रुपमा लाखौं रुपैँया खर्च गरेर जन्मदिन मनाउनाले पनि सरकारको बिरोध जनताले गर्नु स्वभाविकै हो । त्यतिमात्रै होईन ओलीको जन्मदिनमा नेपालको नक्साङकीत ‘केक’ काटिएपछि मुलुकभित्र वा वाहिर रहेका अधिकाँस नेपाली जनताले चर्काे बिरोध गरिरहेका छन् ।  केपी शर्मा ओलीका पछिल्लान गतिबिधिहरुलाई जनस्तरबाट सामाजिक सञ्जालमा निकै चर्काे बहसको बिषय बनेको छ । नेपाल आमाको नक्सामा केक बनाएर उनैलाई काटेर बँडीचुँडी खानु के सहि थियो त ? मुलुककै शासन गर्ने व्यक्ति मुलुकभरीकै जनताको अभिभावक जस्तो व्यक्ति प्रधानमन्त्रीबाटै यस्तो हुनुलाई सानो गल्ती मान्न सकिदैन ।

‘केक’ प्रकरणमा चारैतिरबाट बिरोध भईरहँदा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले भने ओलीको बचाउ गर्दै अन्तराष्ट्रि«य स्तरको सिको गरेको अन्य मुलुकमा पनि यस्तो कार्य हुने गरेको लज्जास्पद स्पष्टिकरण दिएका थिए । नेकपाका कतिपय झोले कार्यकर्ताले केक काण्डको बचाउ पनि गर्न छाडेनन् ।

जन्मदिनमा लाखौंको खर्च गर्नु के लोकतान्त्रिक शासन व्यवस्था भएको मुलुकका प्रधानमन्त्रीलाई सुहाउथ्यो त ? जनताले नेतृत्वमा गएर राजा केपी ओलीलाई राजा बनुन् भनेरभोट दिएका पक्कै होईनन् । जनताले ज्ञानेन्द्र शाहलाई मन नपराएका भन्दा पनि राजतन्त्र मन नपराएका हुन् र राजसंस्था नै जरैदेखी निमोठेका हुन् । स्थिर सरकार बन्यो भने मुलुकमा विकास होला, जनताको जिवनस्तर केही सवल बन्ला, राम्रो शिक्षा, स्वास्थ्यको पहुँच होला भन्ने आशाले जनताले भोट दिएका हुन् । आफ्नो मुलुकका विकट जिल्लाका जनताले एक छाक पेटभरी खाना खान नपाई तिरेको करबाट मोज गर्दै प्रधानमन्त्रीको जन्मदिनमा करोड भन्दा बढिं खर्च गर्नु गलत थियो भन्न धक मान्ने कुरै आउँदैन । हेलिकप्टरमा श्रीमती, आफन्त र चम्चेहरुलाई लगेर जन्मदिन मनाउन गाँउमा बिदा नै दिने निर्णय गराई भोज भतेर नै गर्नु केपी ओलीले कम्युनिष्टकै बद्नाम गरे भन्न पनि पछि पर्ने कुरा आउँदैन ।

यस्तै प्रधानमन्त्रीको जन्मदिनको सम्पूर्ण खर्च यती होल्डिङस्ले गरेको भनिएको छ । यती गु्रपका अध्यक्ष लाक्पा सोनाम शेर्पाले आफ्नै निजी हेलिकप्टर एयर अल्टिच्युडमार्फत आईतबार नेपालको नक्सा स्वरुपमा तयार १५ किलो केक ओली जन्मिएको घर तेह्रथुम आठ्राई पुर्याईएको भनिन्छ, प्रधानमन्त्रीका लागि बिबादास्पद यति होल्डिङले किन खर्च गरिरहेको छ ? प्रशन चिन्ह खडा हुन्छ । कि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले लगाएको आरोप सही हो ? काँग्रेस नेताहरुले प्रधानमन्त्री ओलीलाई यती होल्डिङको सिईहो भएको बताएको थियो ।

दरबारमार्ग लगायतमा रहेको नेपाल ट्रष्टको जग्गा कौडीको भाउमा यती होलिडङलाई लिजमा दिएको र अन्य सरकारी जग्गामा पनि अधिकार जमाएको भन्दै विवादमा तानिएको यतीले केक प्रधानमन्त्रीलाई दिनु कति उचित थियो त ? कम्युनिष्ट आन्दोलन ओलीले राजश्री ठाँटमा हजारौंको उपस्थितिमा जन्मदिन मनाउनु आँफैमा ओलोचनाको विषय पनि हो ।

यस्तै यती काण्डदेखी ओलीको केक काण्डसम्म आईपुग्दा सरकारको चर्काे बिरोध मात्रै होईन प्रधानमन्त्रीको राजीनामाको माग जनस्तरबाट आउन थालेको छ । निबर्तमान सञ्चारमन्त्रीको ७० करोड अडियो टेप रेकर्ड प्रकरणको बारेमा ओलीलाई पहिले नै जानकारी भएपनि कारबाहि नगरेको भन्दै सार्वजनिक कार्यक्रममा ओलीलाई वहिस्कार समेत गर्न थालिएको छ ।

केहिदिन अघि पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा समेत देखाईएको थियो । सरकार विभिन्न समयमा आफ्नै गल्तीका कारण ओलोचित बन्दै गएको छ ।  भ्रष्टाचारीको मुख पनि हेर्दिन भन्ने प्रधानमन्त्रीले आज बाँकोटालाई बचाउन उनलाई फसाएको भन्दै ७० करोड काण्डको अडियो सार्बजनिक गर्ने बिजय मिश्रको बिरुद्धमा मानहानी मुद्धा लगाउन लगाउँदैछन् । यस्तै बालुवाटार ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसंधान आयोगलाई प्रभावमा पारी पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल र डां बाबुराम भट्टराईलाई मुद्धा दायर नगरी काँग्रेस उपसभापति बिजय कुमार गच्छदार, अख्तियारका पुर्व प्रमुख दीप बस्न्यात लगायत १७५ जनालाईमात्र मुद्धा दर्ता गरेर चर्को आलोचनाको शिकार ओली भएका थिए । मुद्धा पक्षपाती भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सडकदेखी सदनसम्म सडक तताएको थियो । पछि नेकपाकै साँसदहरुपनि आफ्नै पार्टीका प्रधानमन्त्री बिरुद्ध ओली सरकारको गलत गतिबिधिको बिरोध गरिरहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारले आफ्नो प्रभावमा पारेर चलाउन खोजेको भन्दै त्यस्को बिरोध भईरहेको छ ।

पछिल्लो समय प्रतिपक्षी दल कांग्रेसले मात्रै नभई सत्तापक्षकै सांसदहरुले पनि ओली सरकारका हरेक कृयाकलापको बिरोध जनाउन थालेका छन् । नेतृत्वको गलत निर्णयका बिरुद्धमा संसदमा आवाज उठाउन थालेका छन् । उपाध्यक्ष बामदेब गौतमलाई राष्ट्रिय सभामा प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्ने नेतृत्वको निर्णयमा बिरोध गरेका छन् । मधेशी, जनजाती, दलीत, उत्पीडित, पीछडिएका लगायतकाले संविधान संशोधनको माग गर्दा नमान्ने सरकारले एक व्यक्तिकालागि संविधान संशोधन गर्न लागेपछि बिरोध भएको हो ।

यतिमात्रै होईन अहिले नेकपाभित्रै विविध कारण अहिले गृहयुद्ध चलिरहेको छ । बिभिन्न समयमा नेकपाका विद्यार्थि नेताहरुबीच झडप हुनेगरेका घटनाहरुपनि सञ्चारमाध्यममा आउने गरेका छन् । एमसिसीको विषयदेखी लिएर संबिधान संशोधनको विषयमा नेकपा बिभाजित भएको छ ।

एमसिसीको विषयको नेकपामा कोहि पास गर्ने पक्षमा छन् भने कोहि यस्तै पास गर्न नहुनेमा छन् । काँग्रेसले भने एमसिसी पास गर्न सहमती गरिसकेको छ । एमसिसी पास गर्ने नगर्ने भन्ने बिषयमा अध्ययन गर्नलाई झलनाथ खनालको संयोजकत्वमा, स्थायी समित सदस्य भिम रावल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली सदस्य रहेको समिती पनि गठन भयो । उक्त समितीले पनि एमसिसि पास गर्नुपुर्व अध्ययन अनुसन्धान गर्न जरुरी रहेको निष्कर्श निकालेको छ ।

बमदेश गौतमलाई राष्ट्रियसभामा ल्याउन गरिएको सिफारिसलाई प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले अमान्य भनेपछि अधयक्ष दहाल, बरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल र बामदेब गौतम एकातिर अनि केपी शर्मा ओली अर्कोतिर भएका छन् । बिस्तारै बिस्तारै केपी शर्मा ओली एक्लीदैं गएका छन् । उनी निकटका नेताहरुका अनुसार आलोचनाको सीमा नाघेमा उनले केहीदिनभित्रमा नै राजीनामा दिने मनस्थिती बनाएका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोईरालासँगको भेटमा प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका साथीहरुको घेराबनदीम परेको बताएका थिए । अब राजीनामा दिनु नै उनले सहीतर्फको राजनीतिक निकास दिएको सार्बजनिक बहस समेत चल्न थालेको छ । ओरालो लागेको मृगलाई बाछोले पनि लखेट्छ भनेजस्तै ओलीको अनुहार परिवर्तन भएको देखिनेछ ।