१ साउन काठमाडौं । यातायात व्यवसायी तथा मजदुरले यातायात क्षेत्रमा देखिएको विद्यमान समस्या समाधानको पहल गरिदिन नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल लाई आग्रह गरेका छन् ।
यातायात क्षेत्रको वर्तमान समस्या समाधान गर्नका लागि निर्माण गरिएको कार्यदलले आज बिहान प्रचण्डलाई भेटेर यातायात क्षेत्रको विद्यमान समस्या समाधानका लागि भूमिका निर्वाह गरिदिन आग्रह गरेका हुन् । व्यवसायी तथा मजदुरले बैंक तथा वित्तीय संस्थाको किस्ता स्थगन गर्नुपर्ने, पुनःकर्जाको व्यवस्था गर्नुपर्ने, कागजात नवीकरणलाई सहज बनाउनुपर्ने, श्रमिकलाई नियमित निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्नुपर्ने, कोरोना बीमामा सरकार र व्यवसायीको ५० प्रतिशत योगदान हुनुपर्ने, यातायात मजदुरलाई स्वास्थ्य सामग्री तथा पिपिइ व्यवस्था मिलाउन मागसमेत गरेका छन् ।
भेटमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष तथा पदाधिकारी र तीनवटै मजदुर ट्रेड युनियनका अध्यक्षको सहभागिता रहेको थियो । भेटपछि अध्यक्ष दाहालले यातायात क्षेत्रमा दीर्घकालीनरूपमा गर्नुपर्ने कामलाई नीति बनाएर गरिने तथा कोरोनाको सङ्क्रमबाट बन्द रहेका यातायातलाई सुरक्षितरूपमा खुलाउने बारेमा तत्काल पहल थाल्ने विश्वास दिलाउनु भएको भेटमा सहभागी महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिएका छन् ।
भेटमा यातायात व्यवसायीले सरोकारवाला व्यक्तिलाई समेटेर यातायात प्राधिकरण स्थापना गर्नसमेत माग गरेका थिए । कार्यदलले यातायात क्षेत्रको विद्यमान समस्या समाधानका लागि बुधबार संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए । उक्त कार्यदलले आजै प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्रीहरु सँग समेत भेट्ने कार्यक्रम रहेको छ ।





