ज्ञानोक आले/हाल लकडाउन भइरहेको बेलामा स्वास्थ्यकर्मीहरुलाई आ–आफ्नो जिम्मेवारी अनुसार आफ्नो युनिटमा सेवा दिन नपाउनु र आफ्नो सेवा ग्राहीहरुको चिन्ता हुनु स्वाभाविक हो । चाहेर पनि कहिलेकाही आफ्नो सेवा ग्राहीलाई सहायता पुर्याउन नसकी रहेको बेलमा सानो सन्देश (सूचना) प्रभाह गर्नु राम्रो होला । मैले लामो समय देखी यसै सन्दर्भमा कुष्ठप्रभावितहरुको बिचमा काम गरिरहेकी हुदा, साथै मेरो काम गर्ने जिम्मा घाउ हेरचाह सम्बन्धि भएकोले घाउ सम्बन्धित बिषयमा साधारण तरिका अनुसार घरैमा बसेर सधारण घाउ हेरविचार कसरी गर्न सकिन्छ भन्ने बारे प्रस्ट पार्न चाहन्छु । कुष्ठप्रभावित मध्य कुनै कुनै ब्यक्तिहरुको अंगको केहि भागहरुमा (जस्तोः हात, खुट्टा) लाटो पना (सुनापन) हुने भएको हुदा उहाहरुको लाटो भएको ठाउमा पसिना नआउने भएकोले गर्दा सुक्खापन हुन्छ र फुट्ने र कडा छाला जम्मा हुन्छ । त्यही कडा छालामा पछि गएर (हात, खुट्टामा) घाउहरु हुने सम्भावना बढी हुन्छ । साथै यस्ता व्यक्तिहरुमा रोगसंग लड्ने क्षमता सामान्य ब्यक्तिहरुको भन्दा कम हुने भएको कारण हाल फैलिएको महामारी कोभिड १९ तिब्रगतिमा फैलिरहेको जानकारी पाएकोले यस्तो अवस्थामा भिडभाडमा जानु उपयुक्त नहुने भन्ने बिशेषज्ञहरुको भनाइलाई मध्यनजर राख्दै साधारण घाउको हेरविचार घरैमा बसी कसरी गर्न सकिन्छ भनेर सानो सुझाव दिन खोजिएको हो ।
साधारणतया घाउ ३ प्रकारको हुन्छ ।
१. साधारण घाउ
२. संक्रमित घाउ
३ . जटिल घाउ
१. सधारण घाउ – घाउ भएको ठाउमा पानी र पिप नभएको, नसुनिएको भएमा सफा पानीले धुने र घरैमा भएको पुरानो काम नलाग्ने फाटेको तर सफा तन्ना, सिरकको खोल अथवा सुतीको कुनै पनि कपडाको टुक्राले घाउ छोपेर राख्ने र आराम गर्ने ।
बिस्तारै यस्तो खालको घाउ आफै निको हुन्छ ।
२. संक्रमित घाउ – घाउमा पिप र पानी बगेको, सुनिएको, मन्द ज्वरो आएमा यो अवस्थाको घाउलाई पनि सफा चिसो पानीमा थोरै नुन हालेर धुने र सुख्खा बनाएर घरमा मलम भए लगाउने नभए नजिकको औषधी पसलबाट एन्टीबायोटिक भएको मलम लगाउने र पिप सुक्ने एन्टीबायोटिक र ज्वरोको औषधी फर्मासिस्ट वा स्वास्थ्यकर्मिको सल्लाह लिएर खाने र खुट्टामा घाउ भएमा २ वटा तकिया राखेर आफु सुतेको अवस्थामा छातीको लेवल भन्दा अलिक माथि उठाएर राक्ने । खुट्टा नझुन्ड्याउने, उभिएर नबस्ने, यति गर्दा गर्दै पनि निको नभएमा स्वास्थ्य कर्मचारी वा चिकित्सकको निगरानीको लागि आफुलाई सुरक्षा राखी , सर्जिकल मास्क लगाएर अस्पताल आउने ।
३. जटिल घाउ – घाउ भएको ठाउमा सुनिएको, पिप, पानी बगिरहेको, हड्डी र ठुलो नशा टेन्डनमा असर पुगेको, गन्हाउने, ज्वरो १०२ देखी १०३ डिग्री भएमा घाउको जटिल अवस्था मानिन्छ । त्यस्तो अवस्थामा स्वास्थ्य कर्मचारी वा चिकित्सकको निगरानी तथा घाउको सानो सल्यक्रिया चाहिन्छ, त्यसैले यस्तो अवस्थामा ढिलो नगरी अस्पतालमा नै आउनु पर्ने हुन्छ । आफुलाई सुरक्षा राखी सर्जिकल मास्क लगाएर सकेसम्म बिरामीको सहायताको लागि एक जना मात्र आउने (तराईको चलन अनुसार एक जना बिरामीको लागि पुरै परिवार आउने चलन भएको हुनाले यसलाई पनि ध्यान दिनु पर्ने हुन्छ।)
अन्य सुझावहरुः
–पसिना नआएर सुक्खापन भएको कारणले खुट्टाको भागहरु फुट्न सक्छ र त्यही फुटेको ठाउमा पछि गएर घाउ पनि हुन सक्छ । लाटोपन भएको कडा छाला जम्मा भएको (अंग) भागहरुलाई (हात अथवा खुट्टालाई) प्लास्टिक वा अल्मुनियमको गहिरो भाँडा (बाटां मा धाराको सफा पानी हालेर दैनिक भिजाउने गर्नु पर्छ । यसको लागि समय यति नै भन्ने छैन तर कडा छाला सेतो र नरम हुनेबेलासम्म भिजाउने र सानो खस्रो ढुंगाको सहायताले बिस्तारै बिस्तारै माडेर कडा छालाहरु हटाउने र एक चोटी धाराको चिसो सफा पानीले पखालेर घरैमा भएको कुनै पनि तेल लगाउन सकिन्छ। जस्तोः खाने तेल, कपालमा लगाउने तेल वा नरम बनाउने मलमहरु दल्ने गर्नु पर्छ । त्यसो गर्नाले छाला नरम हुन्छ र घाउ हुने सम्भावना कम हुन्छ । छालालाई ढुंगाले घोट्दा बिस्तारै रगत नआउने र घाउ नबन्ने तरिकाले घोट्नु पर्छ । यो प्रक्रिया आफुलाई समय निकालेर दैनिक जस्तो गर्नु पर्छ ।
–खुट्टामा सानो घाउ छ भने लट्ठीको सहायता लिएर घाउ भएको खुट्टालाई धेरै भार नदिई हिड्ने, उभिएर धेरै बेर नबस्ने ,कतै जानु परेमा आराम गर्दै गर्दै हिड्ने गर्नु राम्रो हुन्छ । यसो गर्नाले सानो घाउ निको हुन्छ र घाउ ठुलो हुनबाट जोगिनुका साथै अंगभंग हुनबाट बचाउछ ।
– खुट्टामा घाउ हुने सम्भावना धेरै हुन्छ। एक पटक घाउ भएर निको भएपछि ध्यान दिएन भने पटक पटक घाउ हुने सम्भावना बढी हुन्छ र लामो समय पछि हड्डीमा असर पर्न सक्छ । सानो घाउ हुँदा नै राम्रोसँग घाउको हेरचाह गरेर निको पार्नु राम्रो हुन्छ ।
– लाटो भएको हातलाई घाउ हुनबाट बच्नको लागि खान पकाउने बेलामा आगो र तातो कुराहरुबाट बच्ने । तातो भाँडाहरु समाउदा सुतीको बाक्लो खालको कपडाको टुक्राले समाउने गर्नु पर्छ । कुनै पनि तातो चिज पिउदा सानो सुतीको रुमालले गिलास वा कचौरा समाएर पिउने गर्नु पर्छ। लाटो हातले तातो गिलास वा अरु कुनै तातो कुरा समएमा तातोको कारणले हातमा फोका उठछ र पछि त्यही फोका फुटेर घाउ बन्न सक्छ ।
यदि औलाहरु बांगो भएको वा खुम्चिएको छ भने दैनिक जोर्निलाई हल्कासँग तन्काएर तेल लगाई मालिस गर्नु राम्रो पर्छ ।
आफैं बचौ, अरुलाई पनि बचाऔं ,कोरोना विरुद्ध लडेर आफु, आफ्नो परिवार ,नेपाली जनता, साथै सम्पूर्ण विश्वका मानिसहरुलाई मद्दत पुर्याऊँ ।
(ज्ञानोक आले, स्वास्थ्यकर्मी– लालगढ़ अस्पताल कार्यरत, धनुषा)