प्रदेश 2

आगलागी पीडितलाई सहयोग

१९ फागुन, सप्तरी / अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक द्वारा गठित मानव अधिकार निगरानी समूह राजविराजले बैठक खर्चसहित छ हजार आगलागीपीडित महिलालाई आज प्रदान गरेको छ ।
राजविराज नगरपालिका–१० दिघबाकी २५ वर्षीया निरसी खंगलाई उपचार खर्च जुटाउन र पोषणयुक्त खानामा समस्या परेका बेला समूहले बैठक खर्चबापतको एक हजार ५०० र कार्यसमिति पदाधिकारीबाट सहयोगस्वरुप उठाइएको चार हजार ५०० गरी छ हजारको प्रोटिनयुक्त खानेकुरा सहयोग गरेको सहजकर्ता दीपक यादवले जानकारी दिए ।
इन्सेक जिल्ला प्रतिनिधिको कार्यालयमा समूहका अध्यक्ष रघुवर साहको अध्यक्षतामा बसेको बैठकपश्चात् निगरानी समूहका पदाधिकारी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पुगेर हर्लिक्स र फलफूलको जुसलगायतका सामग्री उपलब्ध गराएको यादवले बताए । बिरामीको स्वास्थ्य अवस्था बुझन् नियमित अस्पताल जाने र पाँच÷पाँच दिनमा प्रोटिनयुक्त आहारा लिएर समूहका पदाधिकारी जाने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
इन्सेक प्रतिनिधि मनोहर पोखरेल नेतृत्वमा पुगेको टोलीले बिरामीको स्वास्थ्य अवस्था जानकारी लिनुका साथै अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेण्ट डाक्टर रणजीतकुमार झासँग आगलागीपीडितको औषधोपचार गर्न माग गरेको छ । इन्सेकले पोषणयुक्त खानेकुराको व्यवस्था गर्ने प्रतिबद्धता जनाउँदै अस्पतालले गरीब, असहायलगायतका लक्षित समूहका लागि सामाजिक सेवा एकाईमार्फत उपचारको व्यवस्था मिलाउन समूहले आग्रह गरेको हो । डा झाले अस्पतालमा ‘बर्न सेन्टर’ नभएकाले उपचारका लागि काठमाडौँ वा कीर्तिपुर लैजान सुझाव दिए । आर्थिक अभावमा कारण खंग उपयुक्त अस्पतालमा जान नसक्दा राजविराजकै अस्पतालमा उपचार गराउन बाध्य छन्।
गरीबीका कारण उपचार खर्च जुटाउन नसक्दा जीवनमरणको दोसाँधमा रहेकी उनी गत माघ १३ गते चिसो छल्न बालेको घुरबाट सल्केको आगोले जलेर गम्भीर घाइते भएकी हुन् । ऐलानी जग्गामा बसोबास गर्दै आएकी चार वर्षीया छोरीकी आमा उनी र उनका पति राजाराम अर्काको घरखेतमा मजदूरी गरेर गुजारा चलाउँदै आएका थिए । एक महीनादेखि उनी अस्पताल भर्ना भएपछि रेखदेखमै खटिनु परेकाले पति राजारामले मजदूरी गर्न पाएका छैनन् ।