खेलकुद

बिदुरलाई ६५ बर्ष माथिको उपाधी

१५ कार्तिक, काठमाडौं । बिदुर बिष्ट गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता २०२१ को पुरुष ६५ बर्ष माथीको प्रतियोगितामा जित हात पार्दै उपाधी उचाल्न सफल भएका छन् । बिष्टले सोमबार सम्पन्न फाईनलमा आफ्ना प्रतिद्वन्दि ज्ञानेन्द्र ताम्राकारलाई ४–०, १–४ र ११–९ ले पराजित गर्दै उपाधी उचालेका हुन् ।

गणेशमान सिंह फाउण्डेशनको आयोजना तथा नेपाल टेनिस संघको आयोजनामा भएको प्रतिस्पर्धाको ५५ बर्ष माथीको प्रतिस्पर्धामा भेट्रान खेलाडी कमल थापालाई ६–४, ६–३ ले पराजित गर्दै विमल कुमार गुरुङ्गले उपाधी उचाले । यस्तै ३५ बर्ष माथिको खेलमा कमल बहादुर भण्डारीले सिमान्त गुरुङ्गलाई ६–३, ६–४ ले हराउँदै उपाधीमा आफ्नो नाम लेखाए ।

जुनियर तर्फको यु १० छात्रा तर्फ सिभाली गुरुङ्गले उपाधी जितिन् । उनले आयुषा जि।सी।लाई ६–१, ६–० ले पराजित गरेकी हुन् । यस्तै यु १४ तर्फ सुनिरा थापाले अद्या पौडेललाई ६–३, ६–२ ले पराजित गर्दै उपाधी उचालिन् । सुनिरा थापाले युगल तर्फको उपाधी पनि जितिन् । उनले प्रशंसा मोक्तानसंग मिलेर आद्या पौडेल र समृद्धी महर्जनको जोडीलाई ७–५, ७–६ को कठिन जित निकाल्दै उपाधी जितेका हुन् ।

छात्र यु १४ युगल तर्फको प्रतिस्पर्धामा आयुष्मान हजुर घले र सक्षम विक्रम शाहको जोडीले बाजी मारे । उक्त जोडीले दर्शिल श्रेष्ठ र श्रीजन भट्टराईको जोडीलाई ६–२, ६–१ ले पराजित गरे ।
महिला युगल तर्फ ईरा राउत र अभिलाषा बिष्टको जोडीले जित हात पार्दै उपाधीमा कब्जा जमाए । उक्त जोडीले प्रेरणा कोईराला र सलोनी तामाङ्गको जोडी लाई ५–७, ६–४ र ७–५ ले पराजित गर्दै उापधी कब्जा गरेका हुन् ।

पुरुष एकल तर्फ ऋतिक राणा र आरभ सम्राट हाडा फाईनल प्रवेश गरे । राणाले अकि जुवेन राउतलाई ६–२, २–६, ६–३ ले तथा आरभले निशान श्रेष्ठलाई ६–१, ६–२ ले पराजित गर्दै उपाधी होडलाई कायम राखेका छन् । यस्तै महिला एकल तर्फ प्रेरणा कोईराला र सलोनी तामाङ्गले फाईनल यात्र तय गरे । कोईरालाले रयना शाहलाई ६–१, ६–३ र सलोनीले अभिलाषा बिष्टलाई ६–१, ६–० ले पाखा लगाएका हुन् ।

पुरुष युगल ३५ बर्ष माथिको युगल तर्फ कमल बहादुर भण्डारी र सिमान्त गुरुङ्गको जोडी तथा निरज थापा र लोक गुरुङ्गको जोडीले फाईनल यात्र तय गरे । कमल र सिमान्तको जोडीले राजु क्षेत्री र सुदर्शन श्रेष्ठको जोडीबाट वाक ओभ र प्राप्त गरे भने निरज र लोकको जोडीले राजन पौडेल र नविन श्रेष्ठको जोडीलाई ६–३, ६–३ को सेटमा पराजित गर्दै उपाधी भिडन्त पक्का गरेका हुन् ।

४५ बर्ष माथिको पुरुष युगलमा राजु श्रेष्ठ र महेश श्रेष्ठको जोडी निरेश श्रेष्ठ र गोपाल दास मानन्धरको जोडीलाई ६–१, ६–२ को सेटमा पराजित गर्दै फाईनलमा चन्द्र शाही र देगेन्द्र श्रेष्ठको जोडी संग उपाधीको लागि भिड्ने भएका छन् । शाही र श्रेष्ठको जोडीले सुमित महर्जन र निमा लामाको जोडीलाई ६–२, ६–१ ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् । यस्तै ५५ बर्ष माथिको भिडन्तमा कृष्णराज घले र सुवर्ण धाख्वाको जोडी जित हात पार्दै फाईनल प्रवेश गरे ।

उक्त जोडीले मनोज शमसेर जवरा र प्रदीप शाहको जोडीलाई ६–४, ६–२ ले हराउँदै उपाधी नजिक पुगेका हुन् । यस्तै अर्को फाईनल प्रवेश गर्ने जोडीमा कमल थापा र छम्ब धोन्दुप रहे । उक्त जोडीले सेमिफाईनलमा उत्तम लामा र राजु श्रेष्ठको जोडीलाई ६–४, ७–६ ले हराए । बिजयी खेलाडीहरुलाई प्रतियोगिताको अन्तिम दिन मंगलबार पुरस्कार वितरणले सम्मान गर्ने कार्यक्रम रहेको छ ।