विचार/ब्लग

धनी, गरिव, मध्यम बर्गीया सबैका लागि समस्यै समस्याको सहर काठमाडौं !

बिसमता राई / काठमाडौं नेपालको राजधानी पर्ने भएकोले गर्दा देशभरका मानिसहरु यहाँ आउने गर्दछन् । काठमाडौं उपत्यकामा स्थानीय बासिन्दा भन्दा बाहिरबाट आएका मानिसको संख्या ज्यादा रहेको छ । राजधानी भएका कारण पनि यस ठाउँमा मानिसहरुका इच्छा, चाहाना, आवश्यकता, क्षमता र योग्यता अनुसारका अवसरहरु प्रशस्त छन् । अवसरहरु धेरै भएता पनि उनिहरुको जनजीवनमा प्रत्यक्ष रुपमा जीवन जीउन देखी प्रगति गर्न सम्मका चुनौतीहरु धेरै छन् । यहाँ मानिसहरुले अवसरहरु संगसंगै उतिकै समस्याहरुसँग जुध्ने कार्य सहित आफ्नो जीवन निर्वाह गरिरहनु परेको छ ।
नेपालका अन्य ठाँउको तुलनामा मानिसहरुले खोजे जस्तोे, रोेजे जस्तो, चाहे जस्तो, भने जस्तो सुविधाहरु राजधानीमा उपलब्ध भएपनि धनी होस् या गरिव होस् सबैलाई यहाँको बसाई कठिन नै भईरहेको छ । गरिव तथा मध्यम बर्गाीयका लागि आफ्नो थोरै कमाइबाट आफू र आफ्नो परिवारको जीवन चलाउनुपर्ने हुँदा, समयमै कोठाभाडा तिर्न नसक्दा घरधनीले नबुझिदिँदाको पीडा, घरबाटै निकाली दिँदाको पीडा लगायत काठमाडौंको महंगीले जीवन धान्न उस्तै गाह्रो स्थिति पारेको छ । उद्योगी, व्यावसायी तथा धनीहरुलाई पनि आ–आफ्ना समस्या छन्, बैंकको ऋण दिर्ने समस्या, मजदुर हड्ताल, कर्मचारी तलव, ब्यापार घाटा, चन्दा आतंक लगायत यावत छन् ।
गाउँघर जस्तो शान्त वातावरणबाट आएका मानिसहरुलाई यहाँको धुवाँधुलो, गाडीहरुको आवाज, मानिसहरुको भीडले गहिरो प्रभाव पार्नुका साथै यस ठाउँको वातावरणसँग घुलमिल हुन निकै समय लाग्ने गरेको छ । पहिलो पटक काठमाडौंं आउने मानिसहरुलाई काँ जाने ? के काम गर्ने ? कुन ठाउँमा बस्नेलगायतका कुरा भन्ने थाहा हुँदैन । बाटो काट्दा, गाडी चड्नु पर्दा, बोल्न नजान्दा, बोल्न नसक्दा कुन ठाउँमा कसरी जाने, काँहाबाट जाने, कता जाने जस्ता समस्याहरु झेल्नुपरिरहेको छ । कोहि बाटो काट्न नसक्ने वा काट्न नजान्ने हुँदा दुर्घटनाहरु भइरहेका छन् । उच्च शिक्षा हासिल गर्न, रोजगारी गर्न, घुम्न, प्रशासनिक कार्य आदि विभिन्न कामका लागि राजधानी बाहिरबाट आएकाहरुमा चोरी, डकैती, हत्या, लुटपाट, अपहरण, ठगी, मानव बेचबिखन, बलात्कार लगायत अन्य विविध जघन्य अपराधिक कार्यहरु भईरहेका समाचार आईरहेका छन् ।
राजधानीका मूख्य समस्या भनेको खानेपानी, अव्यवस्थित ढल, बिजुली, सडक जामको उचित व्यवस्था हुन नसकेका कारणले गर्दा पनि मानिसहरुको जीवनस्तर कष्टकार भएको छ । मेलम्चिको पानी ल्याउने भन्दा केही आशा पलाएको थियो तर ती आशा उपत्यकाबासीका लागि निराशामा परिणत हुनु शिवाय केहि विकल्प रहेन । खानेपानी समेत किनेर खानु पर्ने परिस्थिति सदियौँ देखि रहेको भएपनि किन्न सम्म सहज रुपमा पाईन्न ।
बाहिरबाट आएका मानिसहरु स्वास्थ्य, शिक्षा, रोजगारका लागि आउँदा गाडीजामको कारण समयमै आफ्नो गन्तव्य स्थानमा नपुक्दा कतिपय समयमा मानवीय लगायतका विभिन्न किसिमको क्षति बेहोर्नु परिरहेको देखिन्छ । एकातिर मानिसहरुले सुविधा पाइरहेका छन् र अर्को तिर धेरै समस्याहरु झेल्नुपरेको पनि छ । यस मध्ये गाडी जामका कारणले गर्दा जटिल बिरामीलाई तुरुन्त अस्पताल पुर्याउन नसक्दा जीवन र मृत्युको अवस्थामा ठूलो क्षति समेत बेहोर्नु परिरहेको छ, जसको उदाहरण प्रत्यक्ष रुपमा देख्न सकिन्छ । सवारी जामका कारण उपत्यकामा कुनै पनि ठाउँमा आफुले सोचेको समयमा पुग्न सकिदैन । अरु जिल्लाहरुको तुलनामा काठमाडौंमा बन्द–हड्ताल बढी हुने भएकोले यहाँका जनतामा नराम्रो प्रभाब पारिरहेको छ ।
रोजगारीका लागि आएका हुन् वा अध्ययन सकेर बसेका हुन्, रोजगारी गरेर जीवन जीउन चाहनेका लागि धेरैका लागि लामो समयसम्म रोजगारको खोजीमा भौतारिनु पर्ने समस्या उस्तै छ । रोजगार पाएता पनि जीवन चलाउन नपुग्ने पारिश्रमिक दिने, काम बढी लगाउने परम्पराले सर्बसाधारणलाई बाँच्न झनै गाह्रो स्थिति सिर्जना गरेको छ । यसको मतलब श्रमिकहरुले कामको बोझ बढी हुने तर पारिश्रम गरे अनुसारको पारिश्रमिक नपाईरहेको अवस्था ज्यूँका त्यूँ छ । आफ्नो मेहेनत र इमान्दारिताका साथ काम गर्दा जस् पाउनुको सत्ता अपजस् पाउनुको दुःख आ–आफ्नै छ । यस ठाउँमा मानिसहरु विभिन्न सपनाहरु बोकेर आएका हुन्छन तर ती धेरैजसोका सपनाहरु पुरा गर्न धेरै नै कठिन मात्र नभएर अधुरै हुन्छन् । बाहिरबाट आएका कतिपयलाई सोझासिधा देखेर सोझोपनको फाइदा लिने, ठग्ने गरेका प्रशस्त घटनाहरु छन् । विशेषगरी विदेश जानका लागि राजधानी आएकाहरुलाई कतिपय म्यानपावरहरुले झुक्याएर उनिहरुको जीवन नै नर्क बनाइ दिएका छन् । यस्ता समस्याहरुले गर्दा साधारण मानिसहरुले कसैलाई पनि विश्वास गर्न गाह्रो हुनेलगायत डर त्रास उत्पन्न भइरहेको हुन्छ । महिला तथा बालबालिकामा हिँसा बढेका कारण स्वतन्त्र भएर खुल्ला रुपमा हिह्ड्न, काम गर्न अझै पनि गाह्रै छ ।
दुई वर्ष भन्दा बढी रहेको कोभिड १९ का कारणले गर्दा मानिसहरुको जीवन जोखिम मात्र नभएर ११ हजार ९२१ भन्दा बढी मानिसको आजका दिनसम्म निधन भईसकेको छ । साथै अरु जिल्लाको भन्दा काठमाडौंमा जनसंख्याको दृटिकोणले पनि ज्यादा भएकोले यहाँका मानिसहरुलाई अन्य ठाउँका मानिसहरुको तुलनामा छिटो र धेरैलाई कोभिडको शिकार हुदा अत्यन्तै कष्टकार जीवन जिउनु परेको छ । रोग, अझ महामारीले धनी–गरिव–कुर्सी नभन्ने भएपनि हुनेखानेहरुलाई भन्दा हुँदा खानेहरुलाई समयमै खोपको व्यवस्थापन हुँन नसक्दा नेपालमामात्र नभएर विश्वभर नै अकालमा नै मृत्युवरण भोग्नुपरेको थियो, पछिल्लो समयमा भने कोभिडको अवस्था सामान्य हुँदै गएको छ । काठमाडौंमा घर नभइ कोठाभाडाकै साहारामा बसिरहेका र घर नगइ बसेकाहरुका लागि दैनिकी जीवन धान्न असहज भएको थियो । घर गएका मजदुर, विद्यार्थी, सानोतिनो रोजगारमा संलग्नहरुको कोभिड–१९का कारण जागीर गएका कारण आय बन्द भएका कारण कोठाभाडा तिर्न नसक्दा घरबेटीको कोठाबाट निकालिदिने समस्या वृद्धि भएका थिए । कतिपय घरबेटीले केही महिनाको तलव भाडावालाहरुलाई छुट् दिए भने कतिपयले एकदिनको पनि नछाडेका उदाहरुणहरु छन् ।
उपत्यकामा सबैलाई समस्या छ, यसलाई कसै कसैले समस्यै समस्याको शहर पनि भन्ने गरेका छन्, एकदिन सबै आर्यघाट जानैपर्छ सबै मिलेर अवसरै अवसर अनि सुन्दर, शान्त र विकसित सहर निर्माणतिर लागौं ।