खेलकुद

बक्सिङमा नयाँ इतिहास : घिमिरेलाई महत्वपूर्ण सफलता


१५ फागुन, काठमाण्डौ । युवा पुस्ताका चर्चित बक्सिङ खेलाडी अविरल घिमिरेले ऐतिहासिक सफता हासिल गरेका छन । आज अपराह्न जापानको टोकियो सहरमा आयोजित ७० किलोतर्फ ‘के वान के प्रोफेसनल किक बक्सिङ प्रतियोगिता’ मा जापानी बक्सिङ खेलाडी दाइ माचुसितालाई पहिलो राउण्डमा नै पराजित गरी उनले बक्सिङ खेलमा नयाँ रेकर्डसमेत कायम गरेका छन ।

सो तौल समूहको प्रतिस्पर्धामा लगातार तीन पटक विजयी हुने उनी दक्षिण एशियाकै पहिलो खेलाडीसमेत बनेका छन । उनको विजययात्रा जारी छ ।  गत वर्षको ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप, २०२१’ को उपाधि घिमिरेले चुमेका थिए। विश्वका युवा पुस्ताका चर्चित र अनुभवी बक्सरलाई मात्र रिङमा उतारिने सो अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी हुने उनी पहिलो नेपाली बक्सर बनेका थिए । 

जापानको नायोगा सहरस्थित ‘नायोगा कङ्ग्रेस सेन्टर इभेन्ट हल’मा  सम्पन्न ४९औँ सस्करणको सो प्रतिस्पर्धामा घिमिरेले जापानका व्यावसायिक किक बक्सर फुजीमुरालाई परास्त गरेका थिए । दुवैले ‘के वान के बक्सिङ्’ मा प्रतिस्पर्धा गरिसकेका छन । जापानको चर्चित सिमुरा डोजोले प्रतियोगिताको संयोजन गरेको हो । घिमिरेले सोही डोजोमार्फत आफ्नो खेल प्रदर्शन गर्दै आउका छन । 

प्रशिक्षक देवका अनुसार ७० किलो तौल समूहको ‘हिट फ्रोफेसनल किक बक्सिङ’ जित्नु आफैमा प्रतिष्ठाको विषय हो । उनका अनुसार घिमिरेले अब थप अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नुहुने छ । विसं २०७७ को चैतमा जापानको टोकियोमा सम्पन्न ‘के वान फेस्टिवल, २०२१’ को  उपाधि चुम्ने घिमिरे कम उमेरको पहिलो नेपाली बक्सिङ खेलाडीसमेत छन । उनले जापानी बक्सर खोतेचुलाई पहिलो राउण्डमा हराएर नयाँ कीर्तिमान कायम राखेका थिए । यसैगरी उनले गत वर्ष नै ‘प्रोफेसनल किक बक्सिङ हिट ४८’ मा जापानी खेलाडी योसिदा यइजीमाथि सहज जित निकालेका थिए  ।

कम उमेरमा बक्सिङमा ऐतिहासिक सफलता हात पार्दै आएका घिमिरे प्रतिष्ठित ‘के वान किक बक्सिङ अन्तर्राष्ट्रिय प्रतियोगिता, २०२०’ मा दोस्रो स्थान प्राप्त गर्न सफल भएका थिए । नेपालको तर्फबाट कम उमेरमा सो प्रतियोगितामा भाग लिने पहिलो ‘बक्सर’ समेत भएका थिए  । एक्काइस वर्षीय घिमिरे बाज्रिलका खेलाडी फिलिपसँग सो प्रतियोगितामा प्राविधिक कारणले मात्र पराजित हुनुपरेको थियो । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधाराका घिमिरे पाँच वर्षदेखि जापानको नागोया सहरमा बस्दै आउका छन ।