समाचार

समाज रुपान्तरण र राष्ट्रियताका पक्षमा लाग्न लेखकहरूबाट आह्वान


११ चैत, काठमाडौँ । प्रगतिशील लेखकहरूले आफूहरूबीच वैचारिक मतभेद भए पनि समाज रुपान्तरण र राष्ट्रियताका पक्षमा एकजुट हुनुपर्नेमा जोड दिएका छन् । प्रगतिशील लेखक सङ्घ नेपाल, काठमाडौँको पाँचौँ अधिवेशन उद्घाटनका अवसरमा प्रलेसका नेतृत्वदायी व्यक्तित्वहरूले दार्शनिक, वैचारिक एवं राजनीतिक रूपले आफूहरू बेग्लाबेग्लै सङ्गठनमा रहे पनि सामन्तवाद र साम्राज्यवादका विरुद्ध सशक्त आन्दोलन उठाउनुपर्ने बताए ।

सो अवसरमा प्रलेसका केन्द्रीय अध्यक्ष जीवेन्द्रदेव गिरीले प्रवासमा बसेर, प्रताडना सहेर र ज्यान जोखिममा राखेर पनि पुष्पलाल, श्यामप्रसाद, युद्धप्रसाद मिश्र, पारिजात, केवलपुरे किसान, जनकप्रसाद हुमागाईँ, गोविन्द भट्ट, आनन्ददेव भट्ट, रमेश विकल, कृष्णसेन इच्छुक आदिले  मुलुकको प्रगतिशील–वामपन्थी आन्दोलन अगाडि बढाएकाले यसमा बुद्धिजीवीलगायतको विशाल पङ्क्ति रहेको जिकिर गर्दै सङ्कटकाल, कोरोना महामारी र अन्य अप्ठेरा परिस्थितिमा पनि संस्था उत्साहपूर्ण ढङ्गले अगाडि बढिरहेको बताए । “प्रलेस जस्ता संस्थाले वर्गीय शोषण, नारी र दलित उत्पीडनविरुद्ध उभिँदै गाउँगाउँमा चेतना छर्न सकेकाले नेपालको संविधानमा समाजवादोन्मुख  राज्य जस्तो शब्दावली राख्न सफल भयौँ”, उनले भने । 

सो अवसरमा प्राज्ञ प्रा डा हेमनाथ पौडेल, प्रलेसका महासचिव समिर सिंह तथा सल्लाहकार मातृका पोखरेल, वासुदेव अधिकारी र डा पुष्करराज भट्ट,  प्रलेस वाग्मती इञ्चार्ज मधु क्षेत्री र अध्यक्ष जगत् रेग्मी, प्रलेस काठमाडौँका अध्यक्ष कौशिला रिसाल र सदस्य ज्ञानु विद्रोहीले आपसी मतभेद बिर्सी वैचारिक संयुक्त आन्दोलन अघि बढाउन आह्वान गरे ।  उद्घाटनका अवसरमा देवु लुइँटेललगायतको संयोजकत्वमा प्रकाशित ‘काठमाडौँ प्रलेस’ पूर्णाङ्क चार पत्रिका विमोचन गरिएको थियो । प्रलेसको वाग्मती सम्मेलन शनिबार र नयाँ नेतृत्व चयनका लागि आगामी राष्ट्रिय सम्मेलन चैत २५ र २६ गते काठमाडौँमा हुँदैछ ।