१२ चैत, काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले समाज परिवर्तनका लागि समाजसेवीहरूको खाँचो रहेको बताएका छन् ।
सिजन मिडियाद्वारा राजधानीमा आयोजित ‘दोस्रो नेशनल सोसल वेलफेयर अवार्ड २०२१’ वितरण समारोहमा बोल्दै उनले आफ्नै बाबुआमा तथा छोराछोरीलाई सडकमा पु¥याउनेजस्ता मानवता हराइरहेका क्रियाकलाप देखिएकाले समाज परिवर्तनका लागि समाजसेवीहरूको खाँचो रहेको बताएका हुन्।
मन्त्री रेग्मीले समाज परिवर्तनका लागि समर्पित समाजसेवीहरू आवश्यक रहेको र यस्ता कार्यक्रमले उनीहरूलाई अझै सेवाभावमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । उनले भने, “समाजमा हत्या, हिंसा भइरहेको तथा आफैँलाई जन्म दिने बाबुआमालाई सडकमा पु¥याउने र आफूले पाएका छोराछोरीलाई सडक चौतारीमा पठाउने अवस्था रहेको देखिन्छ, यो मानवता हराइरहेको अवस्थामा धेरै समाजसेवीहरू आउन जरुरी छ ।” उनले आफ्नो सुख, समय र कमाइ काटेर समाजसेवामा लागेकोप्रति धन्यवादसमेत दिए ।
मन्त्री रेगमीले समाजमा धेरै विसङ्गति र विकृतिहरू कायमै रहेकाले त्यसलाई राज्यले मात्रै लठ्ठी लगाएर रोक्न नसकिने बताउँदै जबसम्म मानिसको मानिसकतामा परिवर्तन हुँदैन तबसम्म समाज परिवर्तन हुन सक्दैन भने ।
प्रतिनिधित्वको हिसाबले राष्ट्रपतिमा महिला, संसद्मा एकतिहाइ महिला र स्थानीय सरकारमा ४१ प्रतिशत महिला रहेको उल्लेख गर्दै उनले प्रतिनिधिभन्दा नेतृत्व तहमा पुग्न जरुरी छ भने । घरको डाडु, पन्यू चलाउने महिला भएजस्तै राज्यको डाडु, पन्यू चलाउने ठाउँमा पनि महिला पुग्न सक्नुपर्नेमा उनले जोड दिए ।





