१२ चैत, काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले विश्व बैंकले विसं २०७२ मा गएको शक्तिशाली भूकम्पमा परेर अपाङ्गता भएकालाई जीविकोपार्जन र सहायक सामग्री किन्नका लागि उपलब्ध गराएको सहयोग राष्ट्रिय अपाङ्ग कोषमार्फत खर्च गर्ने वातावरण मिलाउन पहल गर्ने बताएका छन् ।
राष्ट्रिय अपाङ्ग कोषका अध्यक्ष डेकराज भट्टराई, सदस्य सचिव अनिता घिमिरे, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घका निवर्तमान अध्यक्ष भोजराज श्रेष्ठसहितको टोलीसँगको भेटमा उनले सरकार शारीरिक अपाङ्गताका साथमा रहेको विश्वास दिलाए ।
विश्व बैंकले २०७२ को भूकम्पमा परेर अपाङ्गता भएका २२९ जनालाई जीविकोपार्जन, सहायक सामग्री वितरण तथा आयआर्जनको वातावरण निर्माण गर्न नेपाल सरकारलाई रु छ करोड ७० लाख उपलब्ध गराएको थियो । त्यो रकम गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कोषमा छ ।
सो अवसरमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले कोषलाई प्राविधिकरूपमा सहयोग गर्न आग्रह गर्दै रकम प्राधिकरणमार्फत खर्च गरिने जानकारी दिए। लोकतान्त्रिक अपाङ्ग सङ्घका अध्यक्ष श्रेष्ठले विश्व बैंकले अनुदान दिएको रकम कोषमार्फत खर्च गर्ने व्यवस्था भएको दाबी गरे ।
कोषका यसअघिका अध्यक्ष रमेश लामा र सदस्यसचिव सुष्मा कार्की खड्काले समाज कल्याण परिषद्को सहमति नलिइरहन रकम खर्च गर्न लागेपछि रकम परिचालनको काम रोकिएको छ । गृहमन्त्री खाँणले यसअधि स्पाइनल इञ्जुरी भएकालाई सरकारबाट सहयोगस्वरुप मासिक रु पाँच/पाँच हजार दिने व्यवस्था मिलाउन पहल गरेका थिए।





