मनोरञ्जन

टोस्टमास्टर्स नेपालले वार्षिक साइटेशन सम्मेलन २०२२ आयोजना गर्दै

२० चैत, काठमाडौँ । टोस्टमास्टर्स नेपालको चौँथो वार्षिक डिभिजन सम्मेलन चैत्र २६ गते शनिबार ठमेलको अलफ्ट काठमाडौँमा आयोजना हुने भएको छ । बिहान ८ बजेदेखि बेलुकी ५ः३० बजेसम्म हुने उक्त सम्मेलनमा नेपालभरका कर्पोरेट, व्यवसायिक संगठन र अन्य समुदायका करिब ४५० सदस्यहरु उपस्थित हुनेछन् ।
यो कार्यक्रमको मुख्य आकर्षण हयुमरस स्पीच प्रस्तुति रहेको छ जसमा विभिन्न ३ डिभिजनका प्रतिनिधिहरुले ह्युमरस स्पिच कसरी दिने भन्ने विषयमा प्रस्तुति दिनेछन् ।
हरेक वर्ष एक जना गैर टोस्टमास्टरलाई उनको संचार र नेतृत्व क्षमताको लागि “दि कम्युनिकेटर अवार्ड” प्रदान गरिन्छ । २०१९ मा भएको साइटेसन सम्मेलनमा रेडियो नेपालका लोकप्रिय रेडियोकर्मी कृष्णा ताम्राकारलाई उक्त अवार्ड प्रदान गरिएको थियो ।
कार्यक्रममा टोस्टमास्टर्स सदस्यहरुले आफ्नो गायन तथा सांस्कृतिक प्रतिभा प्रदर्शन गर्नेछन् ।
सन् १९९१ मा काठमाडौं टोस्टमास्टर्स क्लबाट शुरुवात भएको टोस्टमास्टर्समा सन् २०१७ सम्म पहिलो कर्पोरेट क्लब–लक्ष्मी बैंक टोस्टमास्टर्स क्लब लगायत ८ वटा क्लब मात्र थियो । त्यसपश्चात डिस्ट्रिक्ट ४१ को हिस्सा भएकाले विगतका केहि वर्ष यता क्लबहरु विस्तारको क्रम बढ्ढो रहेको छ । बैंक, शैक्षिक संस्था, पर्यटन उद्यमी, चाटर्ड एकाउन्टेन्ट, शिक्षक, महिला, उद्यमी र अन्य कार्यरत व्यवसायी गरेर हाल ५२ वटा क्लब र १३०० भन्दा बढि सदस्यहरु रहेका छन् ।
डिस्ट्रिक्ट ४१ का क्लब ग्रोथ डिरेक्टर डीटीएम रञ्जित आचार्यले भने “नेपाल ले डिस्ट्रिक्ट ४१ टोस्ट्मास्टर्स पहिलो चोटि आयोजना गर्दै छ र साइटेसन २०२२ उत्तर र पूर्वी भारत तथा बंगलादेश जस्ता सदस्य राष्ट्र हरु ले उत्साह को साथ प्रतीक्षा गरिरहेका छन् । यो सम्मेलन ले सम्पूर्ण नेपालि टोस्टमास्टर्स हरु लाइ एकताबद्ध गर्नेछ ।”
डिभिजन ए (नेपाल), डिस्ट्रिक्ट ४१ को डिरेक्टर डीटीएम सुमन शाक्यले भने, “साइटेसन २०२२ टोस्टमास्टर्स काठमाडौँका सदस्यहरूका लागि मात्र नभएर पोखरा, चितवन, वीरगन्ज, बुटवल, भैरहवा, धरान र झापाका टोस्टमास्टरहरूको लागि पनि सिक्ने, सन्जाल विस्तार गर्ने र आफ्नो व्यक्तित्व विकास गर्ने सुनौलो अवसर हुनेछ । ”