२५ वैशाख, जनकपुर । आसन्न स्थानीय तह निर्वाचनका लागि धनुषाका विभिन्न पालिकाका उम्मेदवार घरदैलो अभियानको अन्तिम चरणमा पुगेका छन् ।
गाउँ गाउँका मतदातालाई आफ्नो पक्षमा रिझाउन घरदैलो अभियानमा केन्द्रीत उम्मेदवारले प्रचारप्रसारलाई अन्तिम चरणमा पु¥याएका छन् । मौनअवधि सुरु भएपछि प्रचारप्रसार गर्न नपाउने भन्दै उम्मेदवारलाई मतदाताको घरदैलोमा पुग्ने चटारो छ ।
आफ्नो पालिकाभित्रका वडा–वडा र घर–घरमा मत माग्न व्यस्त उम्मेदवार मौन अवधि सुरु हुनुपूर्व नै सबै मतदाताको घर–घरमा पुगिसक्ने योजनामा छन् । “करिब करिब सबै वडामा घरदैलो सकिएको छ”, सत्तारुढ गठबन्धनका तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदका उम्मेदवार लालकिशोर साहले भने, “बाँकी रहेको केही मतदाताको घरदैलोमा आज साँझसम्म पुग्ने लक्ष्य छ ।” मौन अवधि सुरु नहुञ्जेलसम्म प्रचारप्रसार जारी रहने उनको भनाइ छ ।
यस्तै लोसपाका उम्मेदवार मनोज चौधरीले पनि आफुहरुको घरदैलो कार्यक्रम अन्तिम चरणमा पुगेको बताए । “हामीले उपमहानगरपालिकाका करिब सबै वडामा घरदैलो गरिसकेको र बाँकी रहेका वडामा आज बिहानैदेखि घरदैलो गरिरहेका छौं”, उनले भने, “आज साँझसम्म सबै ठाउँमा घरदैलो सकिन्छौँ ।” विभिन्न दलका उम्मेदवार आफ्नो पार्टीको घोषणापत्र र एजेण्डा बोकेर मतदाताको घर–घरमा पुगिरहेका छन्, भने स्वतन्त्र उम्मेदवार आफ्नो चुनाव चिन्ह अङ्कित झण्डा, ब्यानर र व्यक्तिगत एजेण्डा सुनाउँदै मतदातासँग मत माग्न व्यस्त छन् ।
निर्वाचन कार्यक्रमअन्तर्गत वैशाख २७ गते सोमबार रातिदेखि मौनअवधि सुरु हुने मधेश प्रदेश निर्वाचन कार्यालय धनुषाका प्रमुख श्रीधर पन्थीले जानकारी दिए। एक उपमहानगरपालिका, तीन उपमहानगरपालिकासहित १३६ स्थानीय तह रहेको मधेस प्रदेशमा पालिकाको प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षसहित विभिन्न पदमा करिब ४० हजार ९२४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कूल आठ जिल्ला रहेको मधेस प्रदेशमा ३३ लाख ३१ हजार १७० मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।
नेकपा माओवादी केन्द्रले सिरहा गोलबजार नगरपालिकाका छ नेता कार्यकर्तालाई पार्टीबाट निष्कासित गरेको छ । माओवादी केन्द्रले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने स्वतन्त्र उम्मेदवार र उनीहरुका सहयोगीलाई पार्टीबाट निष्कासन गरेको हो ।
आसन्न स्थानीय तह निर्वाचनका लागि पार्टीले गोलबजार नगरपालिकाको नगरप्रमुख र उपप्रमुख पदमा उम्मेदवार बनाएका उम्मेदवारविरुद्ध बागी बनेर स्वतन्त्र उम्मेदवारी दिएका रामचन्द्र महतो कोइरी, बास्ना मोक्तानसहित उनीहरुको सहयोगी प्रवेश लामा, पुजन सिंह, कमल स्याङयो र मनोज सिंहलाई कारबाही गरिएको पार्टीका मधेश–प्रदेस इञ्चार्ज गणेश साहले जानकारी दिए।
पार्टी निर्णयविपरीत स्वतन्त्र उम्मेदवारी दिने तथा बागी उम्मेदवारलाई सहयोग गर्ने छ जनालाई नै पार्टीको साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरिएको इञ्चार्ज साहले बताए । कारबाहीमा परेका कोइरीले गोलबजार नगरपालिकाको नगरप्रमुखमा र मोक्तानले उपप्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । माओवादी केन्द्रले सो नगरपालिकाको निवर्तमान प्रमुख देवनाथ साह र निवर्तमान उपप्रमुखमा रेशम कुमारी थापालाई पुनः सोही पदमा उम्मेदवार बनाएको छ ।





