सुदूरपश्चिम

गर्भावस्था र सुत्केरीपश्चात दिइने सेवा प्रभावकारी बनाइँदै

२७ जेठ, टिकापुर । कैलालीको टीकापुर नगरपालिकाले गर्भावस्था र सुत्केरीपश्चात दिइने सेवालाई प्रभावकारी बनाउन विभिन्न स्वास्थ्य कार्यक्रम सुरुआत गरेको छ । नगरपालिकाले अनिवार्य गर्भजाँच र सुत्केरीपश्चातको स्वास्थ्य परीक्षणलाई थप प्रभावकारी बनाउन घरभेट कार्यक्रम, गर्भवतीको गर्भको विवरण मात्र नभई पारिवारिक, आर्थिक र सामाजिक विवरणसमेत लिने गरी स्वास्थ्यकर्मीलाई तालिम दिएको छ ।

नगरपालिकाले सरकारले लिएको दिगो विकास लक्ष्य प्राप्तिलाई सफल पार्नुका साथै मातृशिशु मृत्युदर शून्यमा झार्न यी सेवा प्रभावकारी बनाउन स्वास्थ्यकर्मीलाई थप जिम्मेवारी र सचेत गराएको छ । गर्भजाँच तथा सुत्केरीपछिको जाँचलाई प्रभावकारी बनाउन स्वास्थ्य संस्थाले काम गर्न थालेका छन् । स्वास्थ्य संस्थाको तथ्याङ्क हेर्दा गर्भजाँचमा धेरै गर्भवती आउने तर सुत्केरीपछिको परीक्षणमा निकै कम आउँछन् । स्वास्थ्यकर्मीले गर्भवतीको अवस्थाबारे मात्र जानकारी नलिई अब उनीहरूको पारिवारिक, आर्थिक र सामाजिक अवस्थाबारे जानकार हुनुपर्ने स्टाफ नर्स पूजा तिखातरीले बताए। “हामीकहाँ अहिले सुत्केरीपश्चात परीक्षणमा आउने महिला निकै कम हुनुहुन्छ, अब हामीले उहाँहरूको घरमै गएर स्वास्थ्य परीक्षण गर्नुपर्नेछ”, उनले भने, “गर्भवतीको मानसिक अवस्था, पोषणको अवस्थाबारे समेत स्वास्थ्यकर्मी जानकार हुनुपर्छ । यसले सुत्केरी हुँदा र त्यसपछि दिइने सेवामा समेत सहज हुन्छ ।”

धनसिंहपुर स्वास्थ्यचौकीमा कार्यरत अनमी पुनम साउद अहिले आमा सुरक्षाका लागि नयाँ गाइडलाइन आएकाले अब सेवा दिँदा थप प्रभावकारी बनाउनुपर्ने बताए । “पहिला हामी गर्भजाँच चार पटकमात्र गथ्र्यौँ, अब आठपटक गर्नुपर्नेछ । यसका साथै अन्य सेवासमेत वृद्धि भएको छ”, उनले भने, “आमा र बच्चाको स्वास्थ्यका लागि स्वास्थ्यकर्मीको व्यवहारसमेत सुधार हुनुपर्ने आवश्यकता छ । अब सेवा लिन आउने महिलालाई स्वास्थ्यकर्मीले बोलीचालीलगायतका व्यवहारमा सुधार गर्नुपर्ने, उनीहरूको अधिकारबारे सचेत हुनुपर्नेछ ।”

झङ्गा सहरी स्वास्थ्य केन्द्रका सिनियर अहेव महेशकुमार श्रीवास्तव सेवाग्राहीको अधिकारबारे स्वास्थ्यकर्मीलाई जानकारी भएकाले अब सेवा लिन आउनेको अधिकार र सहज सूचना बढाउने बताए । “सेवाग्राहीका अधिकारबारे हामी त्यति संयमित थिएनौँ, अब हामी उनीहरूलाई कानुनले दिएको अधिकार, गोपनियताबारे सचेत भएर सेवा दिनेछौँ”, उनले भने, “सेवा लिन आउने महिलालाई प्रभावकारी सेवा दिनु स्वास्थ्य संस्थाको दायित्वमा पर्छ ।”

टीकापुर नगरपालिकाका सिनियर अनमी हेवा ज्ञवाली गर्भावस्था, सुत्केरीपछि पाउने सेवा ग्रामीण बस्तीसम्म पु¥याउनका लागि नगरपालिकाले पहिलो चरणमा सबै स्वास्थ्यकर्मीलाई तालिम दिएको बताए । “अब हामी कोही पनि गर्भवती तथा सुत्केरी सेवा पाउनबाट नछुटुन् भनी सचेत छौँ”, उनले भने, “हामीले अस्पतालमा नियमित सेवा लिन र परीक्षणमा आउन जनचेतनाका लागि निःशुल्क एम्बुलेन्स, निःशुल्क रगत, उपमेयर कोशेली वितरणजस्ता सेवा दिइरहेका छौँ ।”

कैलालीको टीकापुरका हरेक वडामा स्वास्थ्य संस्था स्थापना भइसकेका छन् । सबै स्वास्थ्य संस्थामा गर्भजाँच सेवा दिने गरिएको छ भने सुत्केरी सेवा भने तीन स्थान टीकापुर अस्पताल, धनसिंहपुर र नारायणपुर स्वास्थ्य चौकीबाट दिइन्छ । टीकापुरमा बर्सेनि करिब दुई हजारले सुत्केरी सेवा लिन्छन् । गत वर्ष एक हजार ९६० जनाले सुत्केरी सेवा लिएका जनस्वास्थ्य प्रवद्र्धन उपशाखा संयोजक बलबहादुर रावलले जानकारी दिए । “यसका साथै यी संस्थामा अन्य पालिका जानकी, जोशीपुर गाउँपालिका, भजनी, लम्कीचुहा नगरपालिका र बर्दिया जिल्लाको राजापुर नगरपालिकाका नागरिक पनि आउने गरेका छन्”, रावलले भने, ‘‘हरेक वर्ष करिब १५० महिला अन्य पालिकाका सुत्केरी सेवा लिन आउँछन् ।”