समाचार

सुशीला कोइरालाको योगदानबारे चर्चा

३ असार, काठमाण्डौ । जननायक बिपी कोइरालालाई राजनीतिकरुपमा सफल बनाउन उनकी धर्मपत्नी सुशीलाको महत्वपूर्ण भूमिका रहेको जानकारहरूले बताएका छन ।

सुशीला कोइराला स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेकोे १५ औँ स्मृति दिवसका वक्ताहरूले नेता कोइरालाका सबै राजनीतिक चरणमा सुशीलाले साथ दिएकाले नै विपी महामानव बन्न सफल भएका बताए । सो अवसरमा अधिवक्ता अशोक उप्रेती र पुण्यप्रसाद अर्याल तथा पत्रकार कविर राणा र श्याम रिमालले श्रीमती कोइरालाको योगदानलाई चिरस्थायी बनाउन संस्थागत ढङ्गले काम गर्नुपर्नेमा जोड दिँदै उनका स्मृतिमा नाट्य प्रतिष्ठान स्थापना गर्नुपर्ने सुझाव दिए ।

त्यस्तै श्रीमती कोइरालाकी भाइबुहारी कमला शर्मा र अधिवक्ता शान्ता पन्तले तौलिहवा माइती  भएका बहुगुणी सुशीलाले घरव्यवहारसमेत सम्हालेर बिपीका हरेक कदममा साथ दिएका बताए। श्रीमती कोइरालाको योगदानबारे आगामी दिनमा विदेशमा समेत प्रचारप्रसार गरिने जनाइएको छ ।