खेलकुद

पूर्व अन्तर्राष्ट्रिय खेलाडी भट्टराईलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

१४ असार, कास्की । पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेशबहादुर भट्टराइ ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित हुने भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले अग्रज खेलाडी भट्टराईलाई उनले नेपालको खेल क्षेत्रमा पु¥याएका योगदानको कदर गर्दै सो सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।

मञ्चको आयोजनामा यही असार १८ गते पोखरा सभागृहमा सञ्चालन हुने छैटौँ संस्करणको ‘पोखरा स्पोटर्स अवार्ड–२०७८’ का अवसरमा भट्टराईलाई सो अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिए। अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी भट्टराई सन् १९९० मा पाकिस्तानमा भएको चौथो दक्षिण एशियाली खेलकुदमा ‘सिल्भर मेडलिस्ट’ छन् । उनी सन् १९८९, १९९० र १९९१ मा लगातर बक्सिङमा राष्ट्रिय च्याम्पियन भएका थिए। सन् १९८७ मा पहिलोपटक जुनियर राष्ट्रिय प्रतियोगितामा सहभागी भएका भट्टराईले पहिलो सहभागितामै जुनियर च्याम्पियनको उपाधि हासिल गरे । सन् १९८८ मा पनि जुनियर राष्ट्रिय च्याम्पियनसीपमा उनले स्वर्ण पदक जिते ।

नेपालले सन् १९९८ मा काठमाडौँमा भएको सागमा दुई स्वर्ण, पाँच रजत र दुई कास्य पदक जित्दा उनी नेपाली टोलीको व्यवस्थापक थिए । फुटबल खेलसँग समेत संलग्न भट्टराई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को केन्द्रीय सदस्य हुँदै उपमहासचिव बने ।

यसअघि मञ्चले यहाँका अग्रज खेलाडी प्रा डा वीरेन्द्रसिंह गुरुङ, कृष्णबहादुर थापा, खड्गबहादुर रानाभाट, चित्रबहादुर गुरुङ र आनन्द रञ्जितलाई सो अवार्डबाट सम्मानित गरिसकेको छ । मञ्चले छैटौँ पोखरा स्पोटर्स अवार्ड–२०७८ को तयारी अन्तिम चरणमा पुगिसकेको जनाएको छ । अर्वाडअन्तर्गत विभिन्न विधामा पुरस्कार प्रदान गरिनेछ । वर्ष खेलाडी पुरुष र महिलाले इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कारस्वरुप प्राप्त गर्नेछन् ।

वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद सङ्घ, उत्कृष्ट खेल पत्रकारलाई नगद रु ३५ हजारको साथमा ट्रफी प्रदान गरिने मञ्चका महासचिव राजाराम पौडेलले बताए। अवार्ड कार्यक्रमलाई भव्य बनाउन विभिन्न समिति तथा उपसमितिमार्फत कामलाई तीव्रता दिएको छ । मञ्चले खेल र खेलाडीलाई प्रोत्साहनका लागि विसं २०७२ देखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ ।