साहित्य

एकै परिवारका तीन सदस्यद्वारा लिखित चार कृति विमोचन

३२ असार, काठमाडौँ । एकै परिवारका तीन सदस्य साहित्यकार मोतिशोभा श्रेष्ठ, प्राडा सृजना श्रेष्ठ र प्राडा सविना श्रेष्ठ बिजुक्छेद्वारा लिखित नेपाल भाषाका चार पुस्तक विमोचन गरिएको छ ।

नेपाल भाषा फाउन्डेशनले आज यहाँ आयोजना गरेको कार्यक्रममा आमा मोतिशोभाका ‘नेपालमा घरेलु उद्योगको विकास’, ‘प्रकृति, सम्झानाको डायरी, सत्य र आमा, आँसु’ लघु उपन्यास सङ्ग्रह, छोरी प्राडा सृजनाका ‘प्रश्नचिह्नदेखि पूर्णविरामसम्म र बादललाई के थाहा ?’ कविता सङ्ग्रह तथा अर्की छोरी प्राडा सविनाको ‘जिन्दगी एक प्रश्नचिह्न र मनको स्पर्श’ कविता सङ्ग्रह विमोचन गरिएको हो ।

उक्त चारवटै कृतिको विमोचन गर्दै नेपाल भाषा एकेडेमीका कुलपति यज्ञरत्न धाख्वाले नेपाल भाषाको विकास र विस्तारमा उक्त कृतिले सहयोग पुग्ने विश्वास व्यक्त गरे । “एकै परिवारका तीन सदस्यले एकैपटक नेपाल भाषामा चार पुस्तक प्रकाशनमा ल्याउनु गर्वको कुरा हो, नेपाल भाषा साहित्यको यो कलम निरन्तर अगाडि बढ्दै जाओस्”, उनले भने ।

पूर्वअर्थमन्त्री एवम् साहित्यकार शङ्करप्रसाद कोइरालाले अनुवाद साहित्यलाई अगाडि बढाउन नसक्दा नेपाली साहित्य अन्तर्राष्ट्रिय स्तरसम्म फैलिन नसकेको बताए । उनले मोतिशोभाले यसअघि नेपाली भाषामा लेखेका कृतिलाई अनुवाद गरी नेपाल भाषामा ल्याएको जनाउँदै उक्त अनुवादले नेपालभाषा बुझ्ने र जान्नेका लागि सहयोग पुगेको उल्लेख गरे ।

साहित्यकार एवम् पूर्वप्रशासक मोतिशोभाले कोरोनाको समयको सदुपयोग गरेर आफूले लघु उपन्यास लेखेर नेपाल भाषामा अनुवाद गरेको बताए । साहित्यकारद्वय सृजना र सविनाले आफूले विद्यार्थीकालमा कोरेको सिर्जनालाई अहिले नेपाल भाषामा पस्केको बताए ।

मोतिशोभाका लघु उपन्यासमा नेपाली समाजमा महिलाको जीवनसँग गाँसिएका केही महत्वपूर्ण पक्षलाई सरल भाषामा दर्शाइएको छ । उनी नेपाल सरकारको अवकाश प्राप्त सहसचिवसमेत छन् ।

कवियित्री सृजनाका कवितामा मान्छे, मन र मानव जीवनका भावनात्मक यात्रा र त्यसभित्रका आरोह अवरोहलाई प्रष्ट्याउने कोसिस गरिएको पाइन्छ । उनी हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालरोग विशेषज्ञ तथा प्राध्यापकका रुपमा रहेका छन् ।

कवियित्री सविनाका कवितामा प्रकृति, सौन्दर्य, जीवन र समयका विभिन्न अध्यायलाई प्रष्ट्याइएको छ । यस्तै मनका जिज्ञासा, कौतुहलता र प्रश्न लगायतका माया, प्रेम र समाजका अन्य परिवेशलाई कवितामा समेटिएको छ । उनी हाल काठमाडौँ मेडिकल कलेजमा बाल आँखा रोग विशेषज्ञ तथा प्राध्यापकका रुपमा रहेका छन् । उक्त पुस्तक यसअघि नेपाली भाषामा प्रकाशित भइसकेका छन् ।

नेपाल भाषा फाउन्डेशनका अध्यक्ष मङ्गलमान शाक्यले नेपाल भाषा फाउन्डेशनले विसं २०६७ सालदेखि नेपाल भाषाको विकास र विस्तारमा काम गर्दै आइरहेको जानकारी दिए ।