प्रदेश 2

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण प्रक्रिया सुरु

२४ साउन, राजविराज । सप्तरीको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्यको प्रारम्भिक प्रक्रिया सुरु भएको छ ।

सम्झौता अनुसार रु सात करोडमा नक्शा र भवन निर्माणसम्मको मोनिटरिङ गर्ने जिम्मा एक कम्पनीले पाएको राजविराजमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिका कार्यकारी अध्यक्ष डा रोहित पोखरेलले जानकारी दिए । कन्सलटेन्सीका प्राविधिकहरुको टोली सोमवारदेखि नै निर्माण स्थलमा पुगी डिपीआर लगायतको काम सुरु गरेको जनाइएको छ । यद्दपि प्रतिष्ठानको ऐन निर्माणमा ढिलाइ हुँदा निर्माण कार्य केही सुस्त देखिए पनि सम्झौता सम्पन्न भएपछि अव निर्माण कार्यले गति लिने उनको भनाइ छ ।

राजविराज नगरपालिका–१० स्थित हुलाकी राजर्मागको छेउमा नरपालिकाले उपलब्ध गराएको ६२ बिघा जग्गामा प्रतिष्ठान भवनको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) का लागि सम्झौता भएसँगै निर्माण कार्य सुरु हुने उनले बताए । प्रस्तावित जग्गाको घेराबार, वातावरणीय प्रभाव मूल्याङ्कन, भूमिको अवस्था, माटोको परीक्षण लगायतको काम यसअघि नै सकाएको प्रतिष्ठान पूर्वाधार तयारी विकास समितीले डिपीआरको कामसमेत अघि बढाएको छ ।

तीन दिनअघि मात्र डिपीआरका लागि डिजीकोन कन्सलटेन्सी कम्पनी र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिबीच सम्झौता सम्पन्न भएको प्रतिष्ठानले जनाएको छ । यसबारे आइतबार समितिले राजनीतिक दल, प्रतिष्ठान निर्माणस्थल आसपासका बासिन्दा, सुरक्षा निकायका प्रमुखलगायत सरोकारवालाको बैठक गरी डिपीआर सम्झौता र प्रतिष्ठान भवन निर्माणका बारेमा आवश्यक छलफलसमेत गरेको थियो ।

उक्त बैठकमा प्रतिष्ठान सञ्चालन गर्न प्राविधिक पक्ष र आर्थिक पक्षलगायतका विभिन्न विषयमा छलफल भएको प्रतिष्ठानका निर्देशक डा रञ्जीत झाले पत्रकार सम्मेलनमा जानकारी दिए । निर्देशक डा झाले डिपीआरको कामलाई दुई चरणमा विभाजन गरिएको बताउँदै पहिलो चरणमा चार महिनाभित्र नक्शा र डिजाइनको काम सम्पन्न हुने बताए । यी चरण पार गरे लगतै संरचना निर्माणको काम सुरु हुने र तीन वर्षभित्र निर्माण कार्य सम्पन्न गरिसक्ने लक्ष्य रहेको निर्देशक डा झाको भनाइ छ ।

नेपाल सरकारले यस अघि नै प्रतिष्ठान निर्माणको प्रारम्भिक कार्यका लागि राजविराजमा कार्यालय स्थापना गरी रु ४० करोड बजेट विनियोजन गरेकोमा रु १० करोड प्रतिष्ठानको खातामा जम्मा भएको जनाइएको छ । हालसम्म घेराबार, वातावरणीय प्रभाव मूल्याङ्कन, माटो परीक्षण, कार्यालय व्यवस्थापन लगायतका काममा रु दुई करोड १५ लाख खर्च भइसकेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

प्रतिष्ठानको निर्माण कार्य सम्पन्न गर्न करिब रु १२ अर्ब खर्च हुने अनुमान गरिएको छ । मन्त्रिपरिषद्को २०७५ पुस २३ गतेको बैठकले राजविराजमा गणतन्त्रवादी नेता सिँहको नाममा प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो ।