समाचार

दलीय असहमति मिलाउने थलो संसदीय समिति हो : सभामुख सापकोटा

३० साउन, काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले कतिपय दलीय असहमतिलाई सहमतिमा ल्याउने महत्वपूर्ण थलो ससंदीय समिति बनेको बताएका छन् । कानून, न्याय तथा मानव अधिकार समितिले प्रकाशन गरेको ‘संसद्मा कानून, न्याय तथा मानव अधिकार समिति : अभ्यास र उपलब्धि’ पुस्तक विमोचन समारोहमा आज उनले संसद्को महत्वपूर्ण काम कानून निर्माणमा समितिको भूमिका प्रभावकारी भएको बताए ।

“उदीयमान व्यवस्थापिकाको चाहना भनेकै संसद्लाई जीवन्त र जनमुखी बनाउनु हो”, सभामुख सापकोटाले भने, “संसद्लाई जीवन्त बनाउनेतर्फ नै मेरो सम्पूर्ण ध्यान केन्द्रित छ ।”

बजेट अधिवेशनमा २८ वटा विधेयक पारित भएको र गुणात्मक कानून निर्माणमा संसद्ले अझ बढी मेहनत गर्न आवश्यक रहेको स्पष्ट पार्दै उनले सङ्घीय संसद्का कतिपय समितिमा दोहोरोपन देखिएको भन्दै यस्ता विषयमा समीक्षा गर्नुपर्ने बताए।

गृहमन्त्री बालकृष्ण खाणले समितिले संसद्, कानून र मानव अधिकारको विषयलाई समेटेर समितिले अभ्यास र उपलब्धिलाई पुस्तकका रूपमा प्रकाशन गरेर अभिलेखीकरण गर्ने काम महत्वपूर्ण भएको बताए । उनले यस्ता अभ्यासले भएका दस्तावेजहरुलाई एकीकृतरूपमा अध्ययन गर्न काम लाग्नेसमेत बताए।

राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा रामकृष्ण तिमल्सेनाले समितिले प्रकाशन गरेको पुस्तकमा समितिका अभ्यास, उपलब्धि र केही विज्ञका लेखहरु प्रकाशन गरेको भए पनि अन्य अतिआवश्यक विषयहरु राख्न सकिने सुझाव दिए।

समिति सदस्यहरु देवप्रसाद गुरुङ, मीन विश्वकर्मा र शेरबहादुर तामाङले प्रकाशित पुस्तकमा समितिले गरेका महत्वपूर्ण कामहरु समेटिए पनि केही विषयहरु छुटेको बताएका थिए।