प्रदेश 2

सिरहामा झिझिया नृत्यको रौनक

११ असोज, गोलबजार । सिरहामा झिझिया नृत्यको रौनक सुरु भएको छ ।

घैँटोमाथि बलिरहेको आगोको डल्लो लिएर नृत्य गर्नु आफैँमा साहस र कलाको अलौकिक प्रदर्शन नै झिझिया नृत्य हो ।

दसैँ सुरुसँगै गाउँगाउँमा झिझिया नाचिन्छ । पूर्ण तान्त्रिक विधिअनुसार गरिने यो नृत्यको मिथिला क्षेत्रमा आफ्नै महत्व छ । दसैँमा देवी स्तुतिका रूपमा झिझिया नृत्य गरिन्छ । बोक्सीबाट आफ्ना सन्तान र समाजको सुरक्षाका लागि यो नृत्य गर्ने गरिएको जनविश्वास छ । दसैँ सुरु भएपछि हरेक साँझ देवी दुर्गाको मन्दिरमा झिझिया नाच गरिन्छ ।

मिर्चैया नगरपालिका–२ मल्हनियाँ पिरारीमा झिझिया नृत्य प्रतियोगिता आयोजना गरिएको र नृत्यमा प्रथम, द्वितीय, तृतीय हुनेलाई पुरस्कार दिने दुर्गा पूजा समिति अध्यक्ष शिवशङ्कर कापरले बताए । यस्तै, कल्याणपुर नगरपालिका–११ कल्याणपुर बजार दुर्गा मन्दिरमा अर्नामाबाट आएका महिलाको समूहले झिझिया नृत्य गरेको स्थानीय अजय मण्डलले बताए । जिल्लाकै लक्ष्मीपुर पतारी गाउँपालिक–१ रामपुर दुर्गा मन्दिर प्राङ्गणमा झिझिया नृत्य प्रतियोगितामा सहभागी हुन झिझिया समूहलाई आमन्त्रण गरेको स्थानीय रामकुमार रजकले बताए ।

सिरहामा कमला नदी क्षेत्रमा बसोबास रहेका बस्तीमा बढी झिझिया खेल्ने गरेको पाइन्छ । जिल्लामा कर्जनहा नगरपालिका, कल्याणपुर नगरपालिका, सिरहा नगरपालिका, मिर्चैया नगरपालिका, विष्णुपुर गाउँपालिका, नरहा गाउँपालिका, औरही गाउँपालिका, गोलबजार नगरपालिका केही भागमा यो नाच देखाइन्छ । जिल्लाकै पूर्वी स्थानीयतहमा र सप्तरीमा झिझिया नृत्य मनाउने चलन छैन । 

गाउँघरका महिलाले आफ्नो पारिवारिक शान्तिको कामना गर्दै दसैँताका झिझिया नृत्य नाच्ने गरेको विष्णुपुर गाउँपालिकाका सन्तोष यादवले बताए । समाज रुपान्तरणसँगै लोकनृत्य गायब हुन थालेका छन् । अहिले मञ्च लगाएर ‘डिजे साउण्ड’मा झिझिया हुन थालेको चौहर्वाका दीपेन्द्र यादवले बताए ।

राति समूह समूहमा महिला झिझिया नृत्य गरिरहेको सहजै देख्न सकिन्छ । यसको एउटा उद्देश्य दसैँको समयमा देवी दुर्गालाई रिझाउनु रहेको छ । झिझिया नृत्य गर्दै गाइने गीतहरूमा भगवती दुर्गाको स्तुति गरिएका अत्यन्त मोहक गीतहरू पनि गाइन्छन् । त्यसमा प्रत्येक दसैँमा आफ्ना खास सवारीसाथ आउने भगवतीको शृृङ्गार डोलीमा सवारी र कामख्याको गन्तव्यको सजीव चित्रण गरिएका गीतहरू गाइन्छ । 

झिझियामा स्वच्छ घैँटो किनेर त्यसलाई सफासुग्घर गरी घैँटोभरि प्वाल बनाइन्छ । घैँटोको मुखमा राखिएको ढकनामा आगो सल्काइन्छ । टाउकामा राखेर नृत्यका लागि झिझिया तयार हुन्छ । विजयादशमीको दिन पूजा पाठ, भोज र प्रसाद वितरण गरिन्छ र झिझिया लोकनृत्य विसर्जन हुने गरेको सिरहा नगरपालिका–१ की मनिषा यादवले बताए ।

झिझिया नृत्यको अर्को उद्देश्य बोक्सीबाट आफना सन्तानको सुरक्षा गर्नु पनि रहेको कल्यायपुर नगरपालिका–५५ वर्षीया लालीदेवी दासले बताए । झिझिया लोकनृत्य सिरहालगायत धनुषा, मोहत्तरी, सर्लाही, बारा, पर्सासहितका जिल्लामा नाचिन्छ । भारतीय मिथिला क्षेत्रमा पनि यो नृत्य प्रस्तुत गरिन्छ ।