साहित्य

दशैं

फनिन्द्र पोख्रेल कविता


पहिले पहिले
गाउँ भरीका मान्छे भेला गराउँदै,
बाटा, चौतारी र पाटी पौवा सिनिक्क बनाउँदै,
रातो माटो र कमेराको चमक
काली माटी अनि नूनढिकि र अँघेरीको कालो लेप,
आफ्नै शैलीमा रङ्गि बिरङ्गि पाटा भर्दै
आउँथ्यो दशैं ।


कतै रोटे पिङ्गको रौनक,
कतै लिङ्गे पीङ्गको चमक,
हरेक जस्तो घर दलान वा आँगनमा,
स( साना पीङ्ग झुलाउँदै
लाला बाला भुलाउँदै
उल्लास र उमङ्ग बोकेर
आउँथ्यो दशैं ।


‘हुने खाने’ र ‘हुँदा खाने’ बिचको
आपसी सामञ्जस्यता मिलाउँदै,
सर सापटी र सहयोगि हातहरुको
तारतम्य मिलाउँदै,
ूतमसोमा ज्योतीर्गमयू को भाब भित्र,
ढुन्मुनिदै, खेल्दै, रमाउँदै,
बडो मजेदार नखराका साथ
आउँथ्यो दशैं,


पिपिरीका पात बेरेर सहनाई फुकिन्थ्यो ।
दाँतले धागो टोकेर मुर्चुङ्गा बजाईन्थ्यो ।
बाँसका पटेंस उप्काएर, फिर्फिरे घुमाईन्थ्यो ।
जयन्ती फूलको रस निचोरेर रङ्ग भरिन्थ्यो ।
डाँडा थुम्कामा अग्लो भएर चङ्गा उडाईन्थ्यो ।
आमाले पकाएको घोर्ले खशीको मासु,
दुना भरी बोकेर खाँदै रमाउँदै खेल्दै गरिन्थ्यो ।
राता टीका निधार भरी थापेर आशीस लिईन्थ्यो ।
दशैं आएकोमा गर्व गरिन्थ्यो ।


अहिले पनि दशैं आएको छ,
तर महँगीको भार थाम्नै नसक्ने गरेर ।
अभाबको पीडा थेग्नै नसकिने गरेर ।
‘हुने खाने’ र ‘हुँदा खाने’ बिचको ।
काहाली लाग्दो ठूलो खाडल बोकेर ।
आपसी मन मुटाब र तेरो मेरोको बिभेदता बोकेर,
रातो टीका र सेतो टिकाको भुमरीमा रुमल्लिदै,
मनाउने भन्दा पनि देखाउने झिल्के भएर
आएको छ दशैं ।


सबै परीवार र आफन्तको मिलन गराउने दशैं,
आज नितान्त एक्लो र एकलकाँटे भएको छ ।
अग्रज आफन्तहरुको न्यानो स्पर्सका साथ,
आशिष् थाप्नु पर्ने महान चाड,
भाईबर र म्यासिन्जरको फोटोमा
अमीलो मन बनाउँदै टीका टाँसेर
मनाउनु परेकोछ ।
आडम्बर र ढकोस्लाको पर्याय बनेको छ ।


अब आउने दशैं चाहि
यस्तो हैन उस्तो बनेर आवोस,
यस्को र त्यस्को भएर हैन,
सबैको दशैं भएर आओस ।
सारा नेपालीको मनको ढुक ढुकी बनेर आओस ।
एकताको शुत्रमा बाँध्ने बलियो डोरी बनेर आओस ।