खेलकुद

नवौँ राष्ट्रिय खेलकुदः बुद्धिचालतर्फको महिला क्लासिकलमा त्रिभुवन आर्मीलाई स्वर्ण

३१ असोज, गोरखा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गोरखामा जारी बुद्धिचाल प्रतियोगितामा महिलातर्फको क्लासिक इभेन्टमा त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकी सुजना लोहनीले क्लासिक चरणमा नौ अङ्क प्राप्त गर्दै स्वर्ण पदक जित्न सफल भएका छन् ।

प्रतियोगितामा लोहनीले क्लासिक चरणका सबै नौ खेल सम्पन्न हुँदा सबै खेलमा जित निकाल्न सफल हुनुभएको निर्णायक दीपेश गिरीले जानकारी दिए । लोहनीले क्लासिक इभेन्टको पहिलो चरणमा बागमती प्रदेशकी मार्सल तामाङ, दोस्रो चरणमा सशस्त्र प्रहरी बलकी सुरुची थिङ, तेस्रो चरणमा त्रिभुवन आर्मी क्लबकी सिन्दिरा जोशी र चौथो चरणमा प्रदेश नं १ की खुश्बु थापालाई पराजित गरेका थिए ।

त्यस्तै क्लासिकल चरणको पाँचौँ चरणको खेलमा लोहनीले प्रदेश नं १ की खेलाडी कृतिसारा अधिकारी, छैटौँ चरणको खेलमा नेपाल पुलिस क्लबकी पूनम प्रसाईँ, सातौँ चरणको खेलमा गण्डकी प्रदेशकी पूजा भण्डारी, आठौँ चरणको खेलमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)की खेलाडी शान्ति धमला र नवौँ चरणमा एनआरएनएकी सुशीला गुरुङलाई पराजित गरेका हुन् ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकै सिन्दिरा जोशीले सात खेलमा जीत र एक खेलमा ‘ड्र’ निकाल्दै रजत पदक जित्न सफल भएका छन् । त्यस्तै प्रदेश नं १ की खुश्बु थापाले छ खेलमा जीत र एक खेलमा ‘ड्र’ निकाल्दै कास्य पदक प्राप्त गर्न सफल भएका आयोजकले जनाएको छ । स्वर्ण पदक विजेता लोहनीले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला क्लासिकतर्फको क्लासिकल इभेन्टमा सबै खेल जितेर स्वर्ण पदक विजेता बनेका थिए । ।