समाचार

राष्ट्रियसभामा कुन दलका सांसदले के भने ?

२९ पुस, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा दलीय आधारमा बोल्दै सांसदले मुलुकको समसामयिक तथा जनसरोकारका विषयमा बोल्दै सभाध्यक्षमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको विशेष समयमा बोल्दै सांसदहरुले मुलुकमा सुशासन र समृद्धिको मुद्दालाई सशक्त ढङ्गले अघि बढाएर अघि बढ्नुपर्नेमा जोड दिए।

नेकपा एकीकृत समाजवादी खिमलाल देवकोटाले स्थानीय निकायलाई सबल बनाउन आवश्यक स्रोतसाधन र जनशक्तिको व्यवस्थापन गरिनुपर्ने माग गरे । स्थानीय तहमा विनियोजन भएका रू २२ अर्ब लगानीका आयोजना मन्त्रिपरिषद्को निर्णयले सङ्घीय सरकारबाटै कार्यान्वयन हुनेगरी फिर्ता ल्याइएकोमा आपत्ति जनाए ।

सांसद देवकोटाले भने, “चालु बजेट वक्तव्यमा खानेपानी, पर्यटन, सहरी विकास, सडक र नदी नियन्त्रणका रु ५० लाखदेखि पाँच करोडका योजना प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरिएको थियो तर, मन्त्रिपरिषद्को निर्णयले केन्द्रमा फिर्ता ल्याइयो । यो सार्वभौसम संसद्ले अनुमोदन गरेको विषय फिर्ता गर्न मिल्दैन । यो निर्णय तत्काले सच्याउन माग गर्दछु ।”

सांसद उदयबहादुर बोहराले वर्तमान सरकारलाई समर्थन जनाउनु पार्टीको कुनै स्वार्थ नरहेको स्पष्ट पार्दै सरकारको न्यूनतम साझा कार्यक्रम सफलरुपका कार्यान्वयन हुनुपर्नेमा जोड दिए। नेकपा एमालेका भगवती न्यौपाने लोकतन्त्रको पाठ सिकाउने पार्टीले संसदीय व्यवस्थाको उपहास गरेको आरोप लगाए ।

एमालेकै विमला घिमिरेले सरकारले न्यूनतम साझा कार्यक्रममा अघि सारेका, सुशासन, आर्थिक विकासलगायतका एजेण्डालाई सरकार, राष्ट्रसेवक कर्मचारी र राजनीतिक दलहरुको सामूहिक प्रयासबाट सफल पार्नुपर्ने बताए ।

सरकारलाई समर्थन गरेको प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारलाई रचनात्मक सहयोग गर्ने विश्वास व्यक्त गरे। साथै, उनले विद्यार्थीलाई समयै पाठ्यपुस्तक उपलब्ध गराउने र किसानलाई बीउ मलको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।