समाचार

निर्वाचनका लागि विनियोजितमध्ये रू तीन अर्ब फिर्ता हुने

२० माघ, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तोकिएको रकममध्ये करिब रू तीन अर्ब फिर्ता हुने बताएका छन् ।

गत मङ्सिर ४ मा निर्वाचनको समीक्षाका क्रममा आज सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा उनले निर्वाचनलाई मितव्ययी र पारदर्शी बनाउन आयोगले विशेष सजगता अपनाएकाले तोकिएका सबै रकम खर्च नहुने भएको जनाकारी गराए ।

उनले आसन्न राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन र राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा समेत खर्च गरेर बाँकी रकम फिर्ता गरिने बताए । नेपाल सरकारबाट उक्त निर्वाचनका लागि रू १० अर्ब विनियोजनमध्ये रू आठ अर्ब ४९ करोड ९९ लाख निकासा भएकामा हालसम्म रू छ अर्ब ५० करोड ४६ लाख खर्च भएको आयोगले जनाएको छ ।

उनले आगामी प्रतिनिधिसभा र प्रदेशभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीमा सरकारी कर्मचारीका साथै निजी क्षेत्रका कर्मचारीलाई पायकपर्ने स्थानबाट मतदानको अधिकार दिलाउने गरी अस्थायी मतदाता परिचयपत्र उपलब्ध गराउने गरी कानुन संशोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आगामी दिनमा सबै तहको निर्वाचनको मिति वा जनप्रतिनिधिको कार्यकाल कानुनमा स्पष्ट गराउन सकिएमा मिति निर्धारण गर्दा कुनै प्रश्न नउठ्ने उनको भनाइ छ ।