समाचार

रवि लामिछानेको अभिव्यक्तिप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

२२ माघ, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण गरेको छ ।

आज बसेको केन्दीय समिति र संसदीय दलको बैठकपछि पत्रकार सम्मेलन गर्दै लामिछानेले नेपाली सञ्चारक्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप लगाएपछि महासंघले गम्भीर ध्यानाकर्षण गरेको छ ।

‘संसदको चौथो ठूलो दलका सभापति तथा उपप्रधान तथा गृहमन्त्रीसमेत रहिसकेको व्यक्तिले सञ्चारक्षेत्रप्रति संयम गुमाएर अभिव्यक्ति दिनु समग्र सञ्चारक्षेत्रमाथिको प्रहार हो । सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रूपमा धम्की दिइनुले नेपालका सञ्चार प्रतिष्ठन र सञ्चारकर्मी असुरक्षित हुनसक्ने तथ्यप्रति महासंघ चिन्ता प्रकट गर्दछ । लामिछानेको अभिव्यक्तिले कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी स्वयम् सभापति लमिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीले लिनुपर्नेमा महासंघ प्रष्ट पार्न चाहन्छ’, महासंघको प्रेस विज्ञप्तिमा भएको छ ।