पत्रपत्रिका

दुबईबाट ल्याएको १९ केजी सुन जोगबनी पठाउने योजना प्रहरीले सफल हुन दिएन

२८ माघ, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत महिना १९ केजी अवैध सुनसहित पक्राउ परेका दुई जना सुडानी नागरिक मोरङको रानी नाका हुँदै भारत जाने तयारीका साथ नेपाल आएको खुलेको छ । भारतमा रहेका तस्करलाई अवैध सुन बुझाउन उनीहरू काठमाडौंबाट विराटनगर विमानस्थल हुँदै रानी नाकाबाट जोगवनी छिर्ने तयारीमा थिए  ।

त्यसका लागि गत पुस ८ मा प्रतिव्यक्ति ४२ अमेरिकी डलर तिरेर दुई जनाले यती एयरलाइन्सबाट विराटनगर विमानस्थलसम्मको टिकट काटेको पनि भेटिएको छ । तर, सोही दिन दुबईबाट सुन लिएर आएका सुडानी नागरिक मोहम्मद अहमद डफल्ला साराफेल्डिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिन नपाउँदै पुस ८ मा पक्राउ परे । अध्यागमनबाट बाहिरिने क्रममा जब भन्सार एरियामा पुगे, हस्याङफस्याङको शैलीमा देखिएपछि उनलाई भन्सारका कर्मचारीले रोकेर प्रहरीलाई बोलाए । केहीबेरमै पक्राउ परेका उनको कम्मरमा सुन बाँधेको अवस्थामा फेला परेको थियो ।

उनी नेपाल ओर्लिएलगत्तै डोमेस्टिक टर्मिनलबाट अर्को जहाजमा विराटनगर हुँदै रानी नाकाबाट भारत छिर्ने तयारीमा रहेको खुलेको स्रोतले बताएको छ । पक्राउअघि विमानस्थल अध्यागमन कार्यालयले उनलाई पर्यटकको हैसियतमा १५ दिनको अनअराइभल भिसा दिएको थियो । उनी पहिलो पटक नेपाल आएका थिए । सुन बोकेर आएका उनलाई रिसिभ गर्न विमानस्थल पुगेका अर्का सुडानी अहमद इब्राहिम मोहम्मद विमानस्थलबाटै समातिए । आफ्ना साथी सुनसहित यूएईबाट आए पनि विमानस्थल बाहिर ननिस्केपछि उनी खोज्दै भित्र छिरेका थिए । साथी यूएईबाट आएको तर भित्रै अलमलिएको भन्दै लिन पुगेका उनलाई प्रहरीले त्यहींबाट नियन्त्रणमा लिएको थियो ।

उनी काठमाडौंबाट विराटनगर हुँदै भारतसम्म सुन पास गराउने योजनाका साथ गत मंसिर ५ मा यूएईबाटै पर्यटक भिसामा काठमाडौं आएका थिए ।

सिनामंगलको एक होटलमा बसेर सुन पास गराउने र यूएईबाट आएकालाई समन्वय गर्ने जिम्मा लिएका उनी १९ केजी सुन कारोबारमा भने उम्किन पाएनन् । त्यसअघि उनी कात्तिक १७ मा आएर तीन दिन बसेर यूएई फर्किएका थिए ।

त्यसको दुई सातापछि मंसिर ५ मा पुनः पर्यटक भिसामै छिरेका थिए । अवैध सुन काठमाडौंबाट विराटनगर हुँदै भारत पठाउने सेटिङ पनि उनले नै मिलाउने गरेका थिए । त्यसअघि अर्कै सुडानी नागरिक काठमाडौंमा बसेर योजना बनाउने गरेकामा ती यूएई फर्किएपछि उनी आएका थिए । अरू १६ जना सुडानी पनि तस्करीको सञ्जालमा जोडिएको भेटिएको छ । तर, प्रहरीले अनुसन्धानका क्रममा रहेको भन्दै ती सुडानीहरूको नाम सार्वजनिक गरेको छैन ।

इब्राहिमको योजनामा भएका सुन तस्करीमा पछिल्लो पटक मात्रै १८ जना सुडानी यसरी नै नेपाल आएर फर्किएको खुलेको छ । पछिल्लो समय पुस ८ मा बरामद १९ केजी सुन प्रकरणको सञ्जालचाहिँ भत्किएको छ । तर, यो सञ्जालले यसैगरी विगतमा भारत पुर्‍याएको सुन रोक्न भने नेपालका सुरक्षा संयन्त्र र विमानस्थल प्रशासन संयन्त्र असफल भएका छन् । पछिल्ला दिनमा तस्करले भरिया प्रयोग गरेर कार्बनले बेरिएको अर्धठोस सुन ल्याउने गरेको भेटिएको छ । यस्तो सुन सुरक्षा जाँचका क्रममा मेसिनले पनि रिड नगर्ने हुँदा सहजै विमानस्थलको सुरक्षा घेरा पार गर्न सजिलो भएको छ ।

पछिल्लो पटक सुडानी गिरोहको एउटा सञ्जालले मात्रै ४ महिनाको अवधिमा कम्तीमा डेढ क्विन्टलसम्म सुन पार गराएको आशंका अनुसन्धानमा संलग्न अधिकारी गर्छन् । सुनसहित पक्राउ परेका मोहम्मदलाई विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान गर्दा तस्करीको सञ्जाल संगठित रूपमा सक्रिय भएको भेटेपछि थप अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको जिम्मा लगाएको थियो । विमानस्थल भन्सार प्रमुख अरुण पोखरेलले संगठित रूपमा सुन तस्करी भइरहेकाले र त्यसमाथि थप अनुसन्धान आवश्यक देखिएर फाइल सीआईबीमा पठाइएको बताए । ब्युरोको अनुसन्धानमा उनीसहित १८ जना सुडानी र एक भारतीयको नाम खुलेको छ । तर, नेपाल–भारत सीमा क्षेत्रमा यूएईबाट आएको सुन रिसिभ गर्ने भारतीय नागरिक ‘भगवान बाग’ भन्ने मानिस सक्कली वा बोलीचालीमा प्रयोग हुने नाम के भन्ने यकिन भइनसकेको स्रोतले बतायो । उनीसम्म पुग्न अझै अनुसन्धान भइरहेको र तस्करीका लेयर पत्ता लगाउन कोसिस भइरहेको अनुसन्धानमा संलग्न स्रोतले जानकारी दियो ।

सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले यूएईबाट नेपाललाई ट्रान्जिट बनाएर तस्करले भारतसम्म सुन लैजाने गरेको केही तथ्य र प्रमाणबाट खुलेको र यससम्बन्धी अनुसन्धान जारी रहेको बताए । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ केजी अवैध सुनसहित पक्राउ परेका दुई जनामाथि संगठित अपराधको कसुरमा अनुसन्धान जारी छ,’ एसएसपी आचार्यले भने, ‘सुन तस्करीमा सुडानी गिरोह पछिल्लो पटक निकै सक्रिय भएको देखियो । त्यहीमध्येको एउटा समूहको कारोबारको अनुसन्धान गर्दा यूएईमा बसेर काठमाडौं हुँदै भारत लैजाने गरेको देखिन्छ । त्यसमा विस्तृत अनुसन्धान भइरहेको छ ।’

सीआईबीको नियन्त्रणमा रहेका अहमदले आफू यूएईमा भएका मानिसले भनेअनुसार काम गरेको तर सुन पठाउने र रिसिभ गर्ने अनि बीचमा ओसारपसार गर्नेबीच एकअर्का अपरिचित रहेको बताएका छन् ।

‘हामीलाई केही पैसा दिने लोभमा काठमाडौं आएका हौं । एकले अर्कालाई चिनजान हुँदैन । ह्वाट्सएपबाट मात्रै कुराकानी हुन्छ,’ ती सुडानीले भनेका छन्, ‘हामी पैसा पाउने लोभमा यहाँ आएका हौं ।’

प्रहरीका एक अधिकृतका अनुसार सुन तस्करीको सञ्जालमा जोडिएका थप सुडानीबारे अनुसन्धान भइरहेको र त्यस क्रममा यूएईमा रहेका केही शंकास्पद अरू व्यक्ति पनि अनुसन्धानको घेरामा रहेको बताए । कान्तिपुरबाट