समाचार

नेपाल पत्रकार महासङ्घले पुरस्कार प्रदान गर्दै

१४ चैत्र, विराटनगर । नेपाल पत्रकार महासङ्घ मोरङले यस वर्षको ‘षष्टिका बस्नेत सूचनाको अधिकार’ पुरस्कार सूचनाको हकको क्षेत्रका अभियन्ता काशीराज दाहाल र पत्रकार हरि अधिकारीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सञ्जीव खनालको अध्यक्षतामा मङ्गलबार बसेको कार्यसमितिको १६औँ बैठकले रु ५० हजार ५१ राशिको उक्त पुरस्कार दाहाल र रु १५ हजार ५१ राशिको प्रोत्साहन पुरस्कार पत्रकार अधिकारीलाई प्रदान गर्ने निर्णय गरिएको हो ।

‘षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार’बाट यसअघि विनय कसजू, तारानाथ दाहाल, शिव गाउँले, धर्मेन्द्र झा र गजेन्द्र बुढाथोकी पुरस्कृत भइसकेका छन् । यस्तै ‘षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कारबाट राजु श्रेष्ठ, गणेश लम्साल, मोहनकाजी न्यौपाने र देवनारायण साह पुरस्कृत भइसकेका छन् ।

दुवै पुरस्कार नेपाल पत्रकार महासङ्घ मोरङले स्थापना दिवसका अवसरमा हरेक वर्ष चैत १६ गते वितरण गर्दै आएको छ ।

कोशी प्रदेशका प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यतामा विराटनगरमा षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार वितरण कार्यक्रम र सोही दिन बिहान सुन्दरहरैचाको विराटचोकमा प्रभातफेरि निकाल्ने निर्णय गरिएको सचिव नेत्र पी अधिकारीले जानकारी दिए।

उनका अनुसार कार्यसमिति बैठकले नेपाल पत्रकार महासङघको सदस्यता नवीकरण गर्न बाँकी रहेका सम्पूर्ण साधारण सदस्यलाई चैत मसान्तभित्रमा सदस्यता नवीकरण गर्न आग्रह गर्ने निर्णय समेत गरेको छ ।