समाचार

उपनिर्वाचनको लागि आज उम्मेदवारी दर्ता हुँदै

२०चैत्र, काठमाडौँ । आगामी वैशाख १० मा हुने उपनिर्वाचनको आज उम्मेदवारी दर्ता हुनेभएको छ । बिहान १० बजे देखी साँझ ५ बजे सम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ । 

मनोनयन दर्तापछि आजै साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशित गर्ने कार्यतालिका छ । मङ्गलबार बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारका विरोधमा उजुरी दिन सकिने आयोगले जनाएको छ ।

बुधबार अपराह्न ५ बजेसम्म मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र सोही दिन साँझ ६ बजेभित्र उम्मेदवारको नामावली प्रकाशित गर्ने, चैत २३ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने तथा अपराह्न ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।

अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारले निर्वाचन चिह्न पाउनेछन् । आगामी वैशाख १० गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । प्रत्येक निर्वाचन क्षेत्रका सबै मतदान केन्द्रमा मतदान भएका मतपेटिका मतदान अधिकृतबाट प्राप्त गरी सुरक्षितरुपमा भण्डारण भएपश्चात् सोही दिन साँझ ७ बजेपछि मतगणना कार्य सुरु हुने आयोगले जनाएको छ ।

तनहुँ क्षेत्र नं १, बारा क्षेत्र नं २ र चितवन क्षेत्र नं २ मा उपनिर्वाचन हुँदैछ । गत मङ्सिरमा सम्पन्न निर्वाचनमा तनहुँ–१ मा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपति, बारा २ मा जनता समाजवादी पार्टीका तर्फबाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित तथा चितवन क्षेत्र नं १ बाट निर्वाचित सांसद रवि लामिछानेको पद खारेज भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।